पत्रकार महासंघ मोरङद्वारा पत्रकारमाथि आक्रमणको भर्त्सना
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले रातोपाटी अनलाइनमा कार्यरत विराटनगरका पत्रकार अर्जुन आचार्यमाथि समाचार संकलनका क्रममा भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मिति २०८२ फागुन १४ गते जारी प्रेस विज्ञप्तिमा महासंघले झापाको कमल गाउँपालिकामा चुनावी रिपोर्टिङका क्रममा फोटो तथा भिडियो खिच्दै गर्दा नेकपा (एमाले) का कार्यकर्ताबाट पत्रकार आचार्यमाथि आक्रमण गरिएको उल्लेख गरेको छ।
आक्रमणबाट आचार्यको आँखा, गाला र ढाडमा चोट लागेको जनाइएको छ। महासंघले राजनीतिक दलका कार्यकर्ताबाट गरिएको यस्तो गैरराजनीतिक व्यवहारले लोकतन्त्रको उपहास हुनुका साथै प्रेस स्वतन्त्रताको हनन भएको ठहर गरेको छ।
महासंघले घटनाको घोर निन्दा तथा भर्त्सना गर्दै आक्रमणमा संलग्न व्यक्तिहरूलाई तत्काल आवश्यक कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ। साथै आगामी दिनमा पत्रकारमाथि यस्ता हिंसात्मक गतिविधि नदोहो¥याउन सम्बन्धित पक्षसँग अनुरोध गर्दै पत्रकारलाई निर्वाध रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न ध्यानाकर्षण गराएको छ।
प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै महासंघले सबै पक्षलाई प्रेस स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेको छ। साथै, घाइते पत्रकार अर्जुन आचार्यको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
उक्त विज्ञप्तिमा महासंघ मोरङका अध्यक्ष सुशीला पाठकसहित पदाधिकारी तथा सदस्यहरूको हस्ताक्षर रहेको छ।
विज्ञप्ति महासंघका सचिव नेत्र पी अधिकारीले जारी गरेका हुन्।



