देश बनाउन गफ होइन, श्रम चाहिन्छ : हर्क साम्पाङ
विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश बचाउन र बनाउन आफ्नो पार्टीलाई जिताउन आवश्यक रहेको बताएका छन् ।
शुक्रबार विराटनगरको महेन्द्र चौकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले गफभन्दा काममा विश्वास गर्नुपर्नेमा जोड दिएका हुन् ।
अध्यक्ष साम्पाङले ‘भ्रममा होइन, श्रममा’ विश्वास गर्न आग्रह गर्दै श्रमिकलाई हेर्ने दृष्टिकोण बदल्नुपर्ने बताए ।
‘हामीले काम गर्नेलाई हेप्ने र गफ गर्नेलाई ठूलो मान्ने गरेकाले देश गरिब भएको हो,’उनले भने, ‘अब कुरा मिलाएर वा दलाली गरेर होइन, नङ्ग्रा खियाएर मुलुकलाई विदेशी ऋणमुक्त बनाउनुपर्छ ।’
उनले गफ गर्नेलाई भन्दा काम गर्ने प्रतिनिधिहरूलाई संसदमा पठाउन जनतासँग अपिल समेत गरे । देशको विकासका लागि श्रम र श्रमिकको सम्मान अनिवार्य रहेको उनको भनाइ थियो ।


