धनकुटाको आहालेमा केन्द्रीय बजेटको खानेपानी आयोजना अलपत्र
हिराराज राई, धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ९ अन्तर्गत आहाले क्षेत्रमा केन्द्रीय बजेटमार्फत सञ्चालन गरिएको खानेपानी आयोजना लामो समयदेखि अलपत्र अवस्थामा रहेको पाइएको छ।
आयोजना अन्तर्गत बिछ्याउनुपर्ने पाइपहरू जथाभावी छरिएका छन् भने निर्माण कम्पनी(ठेकेदार) सम्पर्कविहीन बनेको भन्दै स्थानीयवासीले गुनासो व्यक्त गरेका छन्।
स्थानीय भुपाल राईका अनुसार दुई–तीन महिना बितिसक्दा पनि पाइप गाड्ने काम अघि बढ्न सकेको छैन। पाइपलाइनका लागि खनेका खाल्डाहरू कतिपय स्थानमा माटोले पुरिएका छन् भने केही ठाउँमा झार उम्रिसकेकाले पुनः खन्नुपर्ने अवस्था सिर्जना भएको देखिन्छ।
राईले सम्बन्धित निकायसँग ठेकेदारलाई छिटो काममा फर्काई आयोजना यथाशीघ्र सम्पन्न गर्न माग गरेका छन्। समयमै अनुगमन र प्रभावकारी कार्यान्वयन नभए सरकारी बजेट दुरुपयोग हुने जोखिम बढ्ने भन्दै स्थानीय तहको ध्यानाकर्षण गराएका छन्।
त्यसैगरी कटहरे, बेस्राङ, खर्वनी र मलिनवोटे क्षेत्रमा पनि केन्द्रीय बजेटद्वारा सञ्चालन गरिएको लिफ्टिङ खानेपानी आयोजना पनि अलपत्र परेको छ। पाइपहरू खाल्डामा गाडिसकिएको र ट्याङ्की निर्माण सम्पन्न भइसकेको भए पनि गत असोज १८ र १९ गते परेको अविरल वर्षाका कारण सडक छेउमा पिल्लर उठाएर राखिएका पाइपहरू पहिरोले लथालिङ्ग बनाएको स्थानीयको भनाइ छ।
स्थानीयका अनुसार वडा नं. ९ भित्र केन्द्रीय बजेटबाट सञ्चालनमा रहेका अधिकांश खानेपानी आयोजना अधुरै छन् र कुनै पनि योजना पूर्ण रूपमा सम्पन्न भएको छैन। वडास्तरबाट अपेक्षित चासो, निगरानी र नियमित अनुगमन नदेखिएको भन्दै उनीहरूले तत्काल अनुगमन तीव्र पार्न, ठेकेदारलाई जवाफदेही बनाउन र निर्माण कार्यको गति बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्।


