१६ बर्षिय अनिषा बिक हत्या प्रकरण :थप अनुसन्धानका लागि सिआइबी टोली पुग्यो सुर्खेत
काठमाडौ । सुर्खेतमा बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको घटनाबारे थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली सुर्खेत पुगेको छ। घटनाको प्रारम्भिक अनुसन्धान जिल्ला प्रहरी कार्यालय सुर्खेतले गरेपछि थप तथ्य पत्ता लगाउन सीआईबीको सहयोग लिइएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) सुधिरराज शाहीका अनुसार प्रहरी निरीक्षकको कमान्डमा रहेको सीआईबीको विज्ञ टोली बिहीबार वीरेन्द्रनगर आइपुगेको हो। टोलीले घटनासँग सम्बन्धित विभिन्न पक्षको गहिरो अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनासँग सम्बन्धित मोबाइल फोन तथा अन्य विद्युतीय सामग्री अनुसन्धानका लागि केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाइएको छ। ती सामग्रीको टेक्नोलोजिकल तथा बायोसेरोलोजिकल परीक्षणमार्फत घटनाको वास्तविकता पत्ता लगाउने प्रयास भइरहेको बताइएको छ।
यसैबीच, कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगञ्जबाट पोलिग्राफ परीक्षण गर्ने टोली पनि सुर्खेत पुगेको छ। प्रहरीका अनुसार पोलिग्राफ परीक्षणमार्फत संलग्न व्यक्तिहरूको बयानको सत्यता जाँच्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रहरीले पोस्टमार्टम रिपोर्ट, पोलिग्राफ परीक्षण, कल डिटेल्स तथा अन्य विद्युतीय प्रमाणको आधारमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ। सबै परीक्षणको रिपोर्ट प्राप्त भएपछि घटनाबारे अन्तिम निष्कर्षमा पुगिने प्रहरीको भनाइ छ।
यता मृतक किशोरीका बुबा इन्द्रबहादुर विक, जो नेपाली सेनाबाट अवकाश पाएपछि विगत ६ वर्षदेखि दुबई प्रहरीमा कार्यरत छन्, घटनाको जानकारी पाएपछि वीरेन्द्रनगर आइपुगेका छन्। उनले दोषीलाई कडा कारबाही हुनुपर्ने माग गर्दै न्याय नपाएसम्म छोरीको शव नउठाउने चेतावनी दिएका छन्।
प्रहरीका अनुसार घटनाको अनुसन्धानका क्रममा एक जनालाई घटनास्थलबाटै पक्राउ गरिएको थियो भने आइतबार थप तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकामध्ये तीनै जना १८ वर्षमुनिका नाबालक रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको बताएको छ।


