सोलुखुम्बुमा बेपत्ता भएका युवक मृत फेला
सोलुखुम्बु । ज्याला मजदुरीको कामको सिलसिलामा सोलुखुम्बु आएका बर्दियाका एक युवक मृत अवस्थामा फेला परेका छन् । बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. ५ बस्ने २७ वर्षीय सुरज थारु मगंलवार मृत फेला परेका हुन् । उनी सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. २ नाक्चुङमा ज्याला मजदुरीको काम गर्दै आएका थिए ।
प्रहरीका अनुसार, थारु फागुन ९ गते घर जान भनी हिँडेका थिए । उनी फागुन १० गते बिहान ४ः०० बजेदेखि सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका वडा नं. २ अधेरीस्थितबाट सम्पर्कविहीन भएका थिए । उनी सम्पर्कविहीन भएपछि हराएको हुलियासहित खोजी सुरु गरिएको थियो ।
हराएका थारुको मृत शरीर माप्य दुधकोशी गाउँपालिका वडा नं. २ स्थित खोलाको बीचमा फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरीले मृत शरीर खोलाबाट झिक्दा अनुहार निकै बिग्रिएको अवस्थामा थियो । यद्यपि, शरीरमा रहेका विभिन्न ट्याटुहरू हेरेर उनका आफन्तहरूले मृत शरीर सुरज थारुकै भएको सनाखत गरेका छन् ।
प्रहरीले दिएको विवरण अनुसार, थारुको हुलियामा कालो आँखा, लामो कालो कपाल, गहुँगोरो वर्ण, र दारी जुङ्गा पालेका व्यक्ति थिए । उनको घाँटीमा क्रसको चिन्ह भएको ट्याटु थियो । यस्तै, उनको दायाँ हातमा विराज अक्षर र बायाँ हातमा ड्यागनको चित्रको ट्याटु खोपिएको थियो । यही ट्याटुहरूको आधारमा आफन्तहरूले शवको पहिचान गरेका हुन् ।
मृतका आफन्तहरू आज सोलुखुम्बु आइपुग्ने बताइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ । शवको पोस्टमार्टम लगायतका कानुनी प्रक्रियाहरू पुरा भएपछि शव आफन्तलाई बुझाइनेछ । -स्रोत:सोलु एफ एम


