मोरङको उर्लाबारीमा बर्डफ्लु पुष्टि, १८ हजार कुखुरा नष्ट गरिने
मोरङ । मोरङको उर्लाबारीस्थित एक पोल्ट्री फार्ममा उच्च संक्रामक मानिएको एचफाइभ एनवान बर्डफ्लु संक्रमण पुष्टि भएको छ । उर्लाबारी–८ स्थित अठियाबारी कृषि फर्म प्रा.लि. मा पालिएका कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि भएको हो ।
केन्द्रिय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा संक्रमण पुष्टि भएको पाइएको उर्लाबारी नगरपालिका पशुपंक्षी विकास शाखाका अधिकृत विष्णुप्रसाद भट्टराईले बताए ।
उक्त फार्ममा ८ हजार कुखुरा मरेको जनाइएको छ । बुधबार भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र विराटनगरका कार्यालय प्रमुख डा. अजय शाह, उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशका पशुचिकित्सक डा. देवकुमार दर्लामी, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगर र उर्लाबारी नगरपालिका पशुपंक्षी विकास शाखाका कर्मचारीहरुले फर्मको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा उक्त फर्ममा रहेका १८ हजार कुखुरा, १४ हजार ७ सय अण्डा, ६ हजार केजी दाना नष्ट गर्नुपर्ने पाइएको अधिकृत भट्टराईले बताए ।
यस्तै, फार्मदेखि ३ सय मिटर वरपर रहेका घरहरुमा पालिएका १ सयभन्दा बढी कुखुरा नष्ट गर्नुपर्ने अनुगमन टोलीले निष्कर्ष निकालेको छ । उक्त कुखुराहरु बिहिबार नष्ट गर्ने जनाइएको छ ।

