मोरङको गोठगाउँमा गम्भीर घाइते अवस्थामा भेटिएका बेलबारी ९ का एक जनाको मृत्यु
बेलबारी । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँमा शुक्रबार बिहान गम्भीर घाइते अवस्थामा भेटिएका एक जना युवाको मृत्यु भएको छ ।
शरीरका विभिन्न भागमा गहिरो चोटपटक रहेको अवस्थामा भेटिएका मोरङको बेलबारी नगरपालिका–९ का ३२ वर्षीय पंकज साहको मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछाने जानकारी दिए । उनका अनुसार साहलाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैँचा–७ गोठगाउँको सडकनजिक शुक्रबार बिहान ६ः१५ बजेतिर गम्भीर घाइते अवस्थामा फेला पारिएको थियो ।
दायाँतर्फको पूरै भाग, टाउको र अनुहार लगायत शरीरभरि चोटपटक रहेको र सडकमा लडिरहेको अवस्थामा साह फेला परेको प्रहरीले जनाएको छ । प्रहरी चौकी गछियाबाट खटिएको सइ राजकुमार श्रेष्ठ नेतृत्वको टोलीले उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल पठाएको थियो ।
अस्पताल पुर्याउनसाथ साहलाई चिकित्सकले मृत घोषित गरिदिएको डीएसपी लामिछानेले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट साह बिहीबार साँझ घरबाट को ३० प ६५३१ नम्बरको मोटरसाइकल लिएर निस्किएको पत्ता लागेको छ ।
प्रहरीका अनुसार उनी घाइते अवस्थामा फेला परेको घटनास्थल नजिकै मोटरसाइकल पार्किङ गरेर राखिएको थियो । इलाका प्रहरी कार्यालय बेलबारीका वरिष्ठ सइ डम्बरबहादुर थापा र इलाका प्रहरी कार्यालय पथरीका इन्स्पेक्टर भीमराज राई नेतृत्वको संयुक्त टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।
‘घाइतेको कम्मरमुनि र शरीरको विभिन्न भागमा धेरै चोटपटक थियो । उद्धार गरेर उपचारका लागि पठाए पनि चिकित्सकले मृत घोषित गरिदिए । घटनास्थलनजिकै साहको मोटरसाइकलसमेत फेला परेको थियो,’ डीएसपी लामिछानेले भने । उनका अनुसार सवारीसाधनको ठक्करबाट साहको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।
सवारीसाधनको ठक्करबाट वा घटनाको अन्य कुनै कारण छ भन्ने बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साहका परिवारलाई घटनाको जानकारी गराइसकिएको छ ।
शव कोशी अस्पतालमै छ । डीएसपी लामिछानले विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताउँदै अनुसन्धानपछि मात्रै घटनाको कारण यकिन हुने जानकारी दिए ।-बेतना दैनिक

