सोलुखुम्बुमा चट्याङ लागेर १७ वटा बाख्राको मृत्यु
सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका–८ स्थित बाघखोरमा शुक्रबार अपराह्न चट्याङ लाग्दा १७ वटा बाख्राको मृत्यु भएको छ।
स्थानीय ३५ वर्षीय टेक बहादुर श्रेष्ठले आफ्नो बाख्राहरू बाघखोर जंगलतर्फ चराउन लगेको समयमा अचानक आएको हावाहुरी र पानीबाट बच्न बाख्राहरू एउटा ठिङ्ग्रे सल्लाको रुखमुनि ओत लागेर बसेका थिए। सोही क्रममा सोही रुखमा अचानक चट्याङ पर्दा रुखमुनि रहेका १५ वटा माउ बाख्रा र २ वटा बोका गरी जम्मा १७ वटा चौपायाको घटनास्थलमै मृत्यु भएको हो।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी केरुङ पत्तालेबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरी टोलीले स्थलगत निरीक्षण गर्दा कुनै मानवीय क्षति नभएको पाइएको छ भने घटनामा एउटा बाख्रा सख्त घाइते भएको थियो ।
मृत अवस्थामा फेला परेका १७ वटै चौपायाहरूलाई प्रहरी र स्थानीयको रोहबरमा सोही स्थानमा खाडल खनी गाडिएको छ भने घाइते बाख्रालाई उपचारका लागि घरतर्फ लगिएको छ ।
चट्याङका कारण किसान श्रेष्ठलाई ठुलो आर्थिक क्षति पुगेको छ ।-सोलु एफएम


