धरानमा सफारी चालकद्वारा १९ वर्षीया युवतीलाई जङ्गलमा लगेर बलात्कार
सुनसरी । सुनसरीको धरानमा एक जना सीटी सफारी चालकमाथि युवतीलाई अपहरण गरी बलात्कार तथा लुटपाट गरेको आरोप लागेको छ । ती चालक पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार चैत ६ गते साँझ १९ वर्षीया युवती अपहरण, बलात्कार र लुटपाटमा परेको पाइएको छ ।
उनी मोरङको सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँस्थित मावली घरबाट आफ्नो पुरानो कपडा लिन धरानस्थित घर आएकी थिइन् । फर्किने क्रममा भोटेपुल क्षेत्रमा बसको प्रतीक्षा गरिरहेका बेला एक अपरिचित व्यक्तिले सस्टी सफारीमा चढ्न आग्रह गरी उनलाई लिएर गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार आरोपितले युवतीलाई एकान्त स्थानमा लगेर कुटपिट गरी अचेत बनाएका थिए । त्यसपछि जबरजस्ती करणी गरी उनको मोबाइल समेत लुटेर फरार भएको पाइएको छ । इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईको नेतृत्वमा घटनाको थप अनुसन्धान भइरहेको छ ।
प्रहरीले घटनास्थल आसपासका सीसीटीभी फुटेजको सूक्ष्म अध्ययनसमेत गरेको छ । फुटेजका आधारमा सवारीसाधनको पहिचान भएपछि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । उक्त घटनामा सफारी चालक सुनसरीको रामधुनी नगरपालिका–२ परिसापुरका २६ वर्षीय रोशन विश्वकर्मा संलग्न रहेको खुलेपछि उनलाई मंगलबार प्रहरीले घरबाटै पक्राउ गरको छ ।
पीडित युवतीले दिएको किटानी जाहेरीमा आरोपितले साकेला पार्क नजिकको जंगलमा लगी हात बाँधेर कुटपिट गर्नुका साथै जबरजस्ती करणी गरी मोबाइल लुटेर लगेको उल्लेख छ । पक्राउ परेका विश्वकर्माविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउने प्रहरीको तयारी छ ।


