मोरङको लेटाङमा आएको असिनापानी सहितको हावाहुरीले ठूलो क्षति
मोरङ । मोरङको लेटाङ नगरपालिका–३ किर्तिमान क्षेत्रमा गएराति आएको असिनापानीसहितको तीव्र हावाहुरीले ठूलो क्षति पुर्याएको छ।
हावाहुरीका कारण सडक किनारामा गाडिएका विद्युतका पोलहरू ढलेपछि मुख्य सडक अवरुद्ध बनेको छ भने सवारी साधनको आवतजावत पूर्ण रूपमा प्रभावित भएको स्थानीयले बताएका छन्।
हावाहुरीले कम्तीमा दुई वटा ट्रान्सफर्मर भुइँमा लत्रिएका छन्। साथै, विद्युतका तारहरू घरआँगनसम्म झुन्डिएर बसेका कारण थप जोखिम बढेको छ।
बस्ती क्षेत्रमा विद्युतीय संरचना क्षतिग्रस्त हुँदा करेन्ट लाग्ने खतरा समेत उच्च रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ।


