सुनसरीको खनारमा मोटरसाइकल दुर्घटना हुंदा एक जनाको मृत्यु
सुनसरी । सुनसरीको खनारमा गएराति भएकाे माेटरसाईकल दुर्घटनामा दुहबी नगरपालिका–९ का २२ वर्षीय विपिन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
विपिन सवार प्र १–०२–०४८ प ७९३८ नम्बरको मोटरसाइकल कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–१३ काली मन्दिरनजिक राति करिब १० बजेतिर दुर्घटनामा परेको थियो।
दुहबीबाट इटहरीतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार विपिन गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्याइए पनि चिकित्सकले राति १०:४० बजेतिर मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गुडिरहेको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक दुहबी–९ का २२ वर्षीय विप्लव चौधरी सामान्य घाइते भएका छन्। उनको विराट शिक्षण अस्पतालमै उपचार भइरहेको छ।


