मोरंगको लेटाङमा ३ सय लिटर अवैध घरेलु मदिरा बरामद, तीन जना नियन्त्रणमा
मोरंग, १८ चैत । आज बिहान करिब ०४:३० बजेको समयमा गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, लेटाङबाट खटिएको प्रहरी टोलीले लेटाङ नगरपालिका वडा नं. ३ स्थित गंगेचोक क्षेत्रमा चेकजाँच गर्ने क्रममा अवैध घरेलु मदिरा बरामद गरेको छ। प्रदेश १-०२००५ ह ०२४१ नम्बरको अटो ट्याम्पुमा ओसारपसार भइरहेको अन्दाजी ३०० लिटर घरेलु मदिरा (४४ वटा ग्यालेनमा रहेको) प्रहरीले फेला पारेको हो।
उक्त मदिरासहित अटो ट्याम्पु र चालक जिल्ला मोरङ, लेटाङ नगरपालिका वडा नं. ३ बस्ने वर्ष ४६ का पूर्ण कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि प्रहरी कार्यालयमा ल्याइएको छ। प्रारम्भिक अनुसन्धानमा अवैध रूपमा मदिरा ओसारपसार भइरहेको खुलेको प्रहरीले जनाएको छ।
यसै क्रममा अनुसन्धानलाई अघि बढाउँदै प्रहरीले मदिराका कारोबारीहरू जिल्ला मोरङ, लेटाङ नगरपालिका वडा नं. ४ बस्ने वर्ष ५० की निर्मला भुजेल र सोही वडा बस्ने वर्ष ६३ की मिना मिश्रा समेतलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ।


