बिहीबारदेखि एसईई : जापान सहित १९६६ केन्द्रबाट ५ लाख १२ हजार विद्यार्थी सहभागी हुँदै,एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य

काठमाडौँ । बिहीबारदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उप-नियन्त्रक विष्णुप्रसाद ज्ञवालीले बिहीबार बिहान ८ बजेदेखि हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।

यस वर्ष ५ लाख १२ हजार ४ सय ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। एसईई परीक्षाका लागि देशभरका १ हजार ९ सय ६५ वटा र जापानमा एउटा गरी कुल १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएको छ। जम्मा ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएको उप-नियन्त्रक ज्ञवालीले बताए।

सबैभन्दा बढी परीक्षार्थी काठमाडौंमा रहेका छन् भने सबैभन्दा कम मनाङमा छन्। ज्ञवालीका अनुसार काठमाडौंका १ सय ३५ वटा परीक्षा केन्द्रबाट ४१ हजार १ सय ५५ जना विद्यार्थीले परीक्षा दिँदैछन्। सबैभन्दा कम मनाङमा एउटा मात्र परीक्षा केन्द्र रहेको छ जहाँबाट ३७ जना विद्यार्थीले परीक्षा दिनेछन्। जापानमा रहेको केन्द्रबाट भने २३ जना विद्यार्थी सहभागी हुनेछन्।

यस वर्ष ग्रेड वृद्धिका लागि ६५ हजार ८ सय ९५ जना विद्यार्थी पनि परीक्षामा सहभागी हुँदैछन्। एकपटक परीक्षामा असफल भएका विद्यार्थीलाई कम्तीमा तीनपटक सम्म परीक्षा दिने अवसर प्रदान गरिएको छ। २०७९ सालमा नियमिततर्फ परीक्षामा सहभागी भएर हालसम्म उत्तीर्ण हुन नसकेका विद्यार्थीहरू पनि यसपटक परीक्षामा सहभागी रहेका छन्।

उप-नियन्त्रक ज्ञवालीका अनुसार बालसुधार गृहमा रहेका विद्यार्थीका लागि नजिकको परीक्षा केन्द्रमार्फत परीक्षा दिने व्यवस्था मिलाइएको छ। बालगृह नजिकै रहेको परीक्षा केन्द्रको केन्द्राध्यक्षले प्रश्नपत्र र उत्तरपुस्तिकासहित निरीक्षक पठाएर बालगृहमा नै परीक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको छ।

परीक्षा सकिएपछि संकलित उत्तरपुस्तिका सोही परीक्षा केन्द्रको विद्यार्थी भएमा अरू परीक्षार्थीसँगै राखेर जाँच गरिनेछ भने फरक केन्द्रको भएमा छुट्टै प्याकिङ गरेर परीक्षा नियन्त्रण कार्यालय पठाउने व्यवस्था गरिएको छ।

विशेष क्षमता तथा अपाङ्गता भएका विद्यार्थीलाई पनि उनीहरूको आवश्यकताअनुसारको व्यवस्थापन गरिएको छ। अपाङ्गताको प्रकृतिअनुसार अतिरिक्त समय र लेखन सहयोगीको व्यवस्था गरिएको छ। ३ घण्टाको परीक्षामा उनीहरूलाई थप १ घण्टा ३० मिनेट समय दिइनेछ।

आफैं लेख्न नसक्ने विद्यार्थीका लागि लेखन सहयोगीका रूपमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई उपलब्ध गराइनेछ। लेखन सहयोगी विद्यार्थीलाई विद्यालयले फोटोसहित प्रमाणित गर्नुपर्नेछ र उनीहरूलाई छुट्टै कक्षाको व्यवस्था गरेर परीक्षा दिने प्रबन्ध मिलाइएको छ।

परीक्षा बिहान ८ बजेदेखि सुरु हुने भएकाले विद्यार्थीलाई ढिलोमा साढे ७ बजेसम्म परीक्षा केन्द्रमा पुग्न आग्रह गरिएको छ। साथै, प्रवेशपत्र, आवश्यक लेखन सामग्री साथमा ल्याउन तथा मोबाइललगायत निषेधित सामग्री नल्याउन र निर्धक्क भएर परीक्षा दिन अनुरोध गरिएको छ।

एक महिनामै नतिजा प्रकाशन

परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसईई परीक्षाको नतिजा एक महिनाभित्रै प्रकाशन गर्ने लक्ष्यसहित तयारी तीव्र पारेको छ। उप-नियन्त्रक ज्ञवालीले विगतमा जस्तो परीक्षाफल प्रकाशन गर्न महिनौं नलाग्ने स्पष्ट पारे। सरकारले छिटो नतिजा प्रकाशन गर्न निर्देशन दिएकोले सोहीअनुसार तयारी गरिएको हो।

यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच गर्ने तयारी गरिएको छ। परीक्षा भएको विषयको सोही दिन परीक्षा केन्द्रमा परीक्षक र सम्परीक्षकहरूले उत्तरपुस्तिका जाँच गरेर विद्यार्थीको मार्कसिट (लब्धांकपत्र) शिक्षा विकास तथा समन्वय एकाइमा पठाउने व्यवस्था गरिएको छ।

शिक्षा विकास तथा समन्वय एकाइले तोकिएको समयभित्र ती मार्कसिटहरू परीक्षा नियन्त्रण कार्यालय पठाउनेछ। यसरी काम गर्दा कम्तीमा एक महिनाभित्रै नतिजा प्राप्त गर्न सकिने विश्वास लिइएको छ।

परीक्षा नियन्त्रण कार्यालयले यस वर्ष अनुगमनमा पनि कडाइ गर्ने जनाएको छ। परीक्षार्थीहरूलाई असहज हुनेगरी कक्षाकोठामा अनावश्यक भिडभाड नगर्न अनुगमनमा कडाइ गरिएको हो। कार्यालयले परीक्षा अवधिमा कुनै समस्या आए तुरुन्त निरीक्षकलाई जानकारी गराउन पनि विद्यार्थीलाई अनुरोध गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।