जेनजी आन्दोलनको मौका छोपेर पथरीबाट फरार भएका दुई जना थुनुवा पक्राउ
मोरंग । मोरङको इलाका प्रहरी कार्यालय पथरीबाट फरार भएका दुई जना थुनुवा पक्राउ परेका छन् ।
जेनजी आन्दोलनको मौका छोपेर गत भदौ २४ गते फरार भएका लेटाङ नगरपालिका–३ का २४ वर्षीय सुवर्ण राई र २१ वर्षीय सुमन राई पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको असई नमराज कार्की नेतृत्वको टोलीले उनीहरुलाई बिहीबार साँझ गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारेर पक्राउ गरेको हो ।
दुवै जना लागुऔषध मुद्दाका थुनुवा रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लीलाराज लामिछानेले बताए । उनका अनुसार दुवै जनालाई इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।


