सुनचाँदी पसलबाट ठगीमा परेका पीडितहरू न्यायका लागि भौतारिँदै

विराटनगर, २४ चैत । मोरङको कानेपोखरी–६, रमाइलो बजारमा रहेको शुभलक्ष्मी अधिकारी सुनचाँदी पसल बाट ठगिएका २५० भन्दा बढी सर्वसाधारणको हातमा अहिले एउटा महत्वपूर्ण दस्तावेज छ— परिवारको नाममा रहेको ९ कित्ता जग्गाको पूर्ण विवरण । तर, सम्पत्तिको स्रोत र विवरण फेला पर्दा पनि आफ्नो रगत–पसिनाको कमाइ कसरी फिर्ता लिने भन्नेमा पीडितहरू अझै अन्यौलमा छन् ।

पीडितहरूसँग कानेपोखरी–६ का वडाध्यक्ष खड्गबहादुर बस्नेतको रोहबरमा बाटुलादेवी अधिकारीले गरिदिएको लिखित कागज पनि छ, जसमा आफ्नो नामको सम्पत्तिबाट ऋण तिर्ने प्रतिबद्धता जनाइएको छ । तर, न त जग्गा बिक्री गरेर पैसा फिर्ता गर्ने प्रक्रिया अघि बढेको छ, न त राज्यका निकायले नै उनीहरूलाई ठोस सहयोग गरेका छन् ।

आफ्नो लाखौं रुपैयाँ डुबेपछि न्यायका लागि भौतारिएका पीडितहरू मंगलबार इलाका प्रहरी कार्यालय पथरी पुगेका थिए । तर, प्रहरीले ‘पर्याप्त प्रमाण नपुग्ने’ भन्दै ठगीको उजुरी दर्ता गर्न अस्वीकार गरिदियो । पीडित विष्णु गिरीका अनुसार प्रहरीले उजुरी लिन नमानेपछि उनीहरू थप निराश बनेका छन् । यता, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी तुलसीराम अर्याल भने कानुनी प्रमाणको अभाव देखाउँदै पन्छिरहेका छन् ।

प्रहरीले मात्र होइन कानेपोखरी गाउँपालिकाको न्यायिक समितिले पनि यस विषयमा कुनै स्पष्ट जवाफ दिन सकेको छैन । महिनौँ अघि निवेदन दिए पनि न्यायिक समितिले न त समाधानको बाटो देखाएको छ, न त क्षेत्राधिकारको विषयमा पीडितलाई स्पष्ट नै पारेको छ । न्यायिक समितिका संयोजक समेत रहेका पालिकाका उपाध्यक्ष भोला अधिकारीले आफूहरुले छलफल गरेपनि समाधान दिन नसकेको बताए ।

पीडितहरूले फेला पारेको विवरण अनुसार बाटुलादेवी अधिकारीको नाममा बयरवन र इटहरी लगायतका ठाउँमा ९ वटा कित्तामा जग्गा छ । वडा कार्यालयको रोहबरमा भएको सहमति अनुसार ती जग्गाबाट बचत फिर्ता हुनुपर्ने हो । तर, पीडितहरूबीच नै कसरी र कसले यो प्रक्रियाको नेतृत्व गर्ने भन्नेमा एकमत हुन सकेको छैन । यही विवाद र कानुनी अन्यौलको फाइदा उठाउँदै फरार सञ्चालक मनोज अधिकारी र उनको परिवार पन्छिने कोसिस गरिरहेका छन् ।

यो ठगीको श्रृङ्खला करिब २० वर्ष अगाडिदेखि सुरु भएको थियो । अधिकारी परिवारले सुन पसलको आवरणमा अवैध रुपमा सर्वसाधारणबाट बचत संकलन गर्दै आएका थिए । बैंकभन्दा बढी ब्याज दिने प्रलोभनमा परेर मजदुर, वृद्धवृद्धा र वैदेशिक रोजगारीमा रहेका परिवारले आफ्नो जीवनभरको कमाइ त्यहाँ बुझाएका थिए ।

यो ठगी प्रकरण कति सम्म दर्दनाक छ भन्ने उदाहरण ८३ वर्षीय चक्रबहादुर गुरुङ हुन् । आफ्नो ९ लाख रुपैयाँ फिर्ता पाउने आशमा दिनहुँ बन्द सटर कुरेर बस्ने गुरुङले अन्ततः न्याय नपाई प्राण त्यागे । उनीजस्ता धेरै पीडितहरू अहिले डिप्रेशन र आर्थिक अभावको चपेटामा छन् ।

सञ्चालक मनोज अधिकारी आक्कल झुक्कल देखिन्छन् तर, समाधान दिँदैनन् । उनका बुबा होमनाथ अधिकारी अमेरिकामा छन् । पीडितहरूको दाबी छ कि उनीहरूले सर्वसाधारणको करोडौँ रकम अमेरिका पु¥याएका छन् । हाल घरमा रहेकी बाटुलादेवी र बुहारी स्मिता अधिकारीले आलटाल गरिरहेका छन् ।

राज्यका निकायहरू—प्रहरी, अदालत र पालिका—एकअर्कालाई देखाएर पन्छिँदा रमाइलो बजारका सयौँ परिवारको बिचल्ली भएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।