चक्कु प्रहारपछि फरार आरोपी नियन्त्रणमा लिने दुई प्रहरीलाई एआइजी कार्कीद्वारा सम्मान
काठमाडौ । ललितपुरको पाटन दरबार क्षेत्र नजिक भएको चक्कु प्रहार घटनामा फरार आरोपीलाई पक्राउ गर्न सफल भएका दुई प्रहरी कर्मचारीलाई सम्मान गरिएको छ। घटनामा देखाएको साहसिक भूमिका र तत्काल कारबाहीका कारण उनीहरूलाई पुरस्कृत गरिएको हो।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी इश्वर कार्कीले जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होबिन्द्र बोगटी र प्रहरी जवान शाहाना बोहरालाई पुरस्कार प्रदान गरेका हुन्। चैत २५ गते साँझ पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिर अगाडि सिर्जन नेम्वाङ र सुमित नेम्वाङमाथि चक्कु प्रहार भएको थियो।
घटनापछि हतियारधारी सन्जिब नेपाली घटनास्थलबाट भागेका थिए। तर प्रहरी जवान शाहानाले उनलाई लखेटेर नियन्त्रणमा लिन सफल भएकी थिइन्। सो साहसिक कदमलाई उच्च मूल्यांकन गर्दै उनलाई नगद पुरस्कार प्रदान गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, घटनाको तत्काल अनुसन्धान र आरोपी पक्राउमा नेतृत्वदायी भूमिका खेलेको भन्दै एसएसपी होबिन्द्र बोगटीलाई पनि सम्मान गरिएको छ। प्रहरीको तत्परता र समन्वयका कारण घटनाको आरोपी छिट्टै नियन्त्रणमा लिन सफल भएको अधिकारीहरूको भनाइ छ।


