नापी र मालपोतलाई गाभेर एउटै कार्यालय बनाउन गृहकार्य सुरु
काठमाडौ । सरकारले मालपोत कार्यालय र नापी कार्यालयलाई गाभेर एउटै कार्यालय बनाउन गृहकार्य सुरु गरेको छ।
त्यस कार्यालयको नाम ‘जग्गा प्रशासन कार्यालय’ अथवा ‘भूमि प्रशासन कार्यालय’ रहने भएको छ। यसका लागि छलफल सुरु भएको भूमि व्यवस्था, गरिबी तथा सहकारी मन्त्रालयका प्रवक्ता गणेश भट्टले जानकारी दिए।
उनले भने, ‘नापी र मालपोत कार्यालयलाई गाभेर एउटै कार्यालय बनाउन हामीले विभिन्न चरण र विभिन्न तहमा छलफल सुरु गरिरहेका छौँ।’मन्त्रालय स्रोतका अनुसार नापी र मालपोत कार्यालयलाई गाभेर एउटै एकीकृत कार्यालय बनाउन आवश्यक तयारी गर्न मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयबाट निर्देशन आएको छ।
प्रधानमन्त्री कार्यालयबाट आएको निर्देशनअनुसार गृहकार्य सुरु भएको र सम्भवतः अर्को आर्थिक वर्षबाट नापी र मालपोत कार्यालय गाभिने सम्भावना रहेको मन्त्रालयका एक उच्च कर्मचारीले बताए।


