कोशीका विभिन्न जिल्लामा दुर्घटना, चार जनाको मृत्यु
विराटनगर । कोशी प्रदेशका सुनसरी, मोरङ, झापा र उदयपुरमा सोमबार भएका अलगअलग सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सबै घटनामा संलग्न सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीमा वीरगञ्जबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ३८६८ नम्बरको बसले बाटो काट्दै गरेकी अन्दाजी ५ वर्षीया असियाना खातुनलाई ठक्कर दिएको थियो । गम्भीर घाइते उनलाई जिल्ला अस्पताल इनरुवामा लगिएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । बस चालक सुनसरी इटहरी उपमहानगरपालिका–१६ बस्ने ३७ वर्षीय शिवजी निरौला प्रहरी नियन्त्रणमा छन् ।
मोरङको कानेपोखरी गाउँपालिका–५ स्थित भित्री सडकमा बा ३९ प ४३३३ नम्बरको मोटरसाइकललाई मे १ त ६७८७ नम्बरको ट्रयाक्टरले ब्याक गर्ने क्रममा ठक्कर दिएको थियो । मोटरसाइकल चालक ३० वर्षीय मनोज कार्की गम्भीर घाइते भएका थिए । नोबेल अस्पताल विराटनगर पुर्याउनसाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
मोटरसाइकलको पछाडि सवार अर्का घाइते दिलबहादुर कार्कीको उपचार भइरहेको छ । ट्रयाक्टर चालक ६० वर्षीय प्रदीप राजवंशी प्रहरीको नियन्त्रणमा छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कन्काई नगरपालिका–४ कोटीहोममा दुर्गापुरबाट माईखोलातर्फ जाँदै गरेको को २ त ७४९७ नम्बरको ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । सहचालक कन्काई नगरपालिका–१ का अन्दाजी २६ वर्षीय विनोद दनुवार अचानक खसेर घाइते भएका थिए । बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचारका क्रममा उनको मृत्यु भएको हो । ट्रयाक्टर चालक कन्काई–१ का ३० वर्षीय राजु नेपाली प्रहरीको नियन्त्रणमा छन् ।
उदयपुरको त्रियुगा नगरपालिका–९ राजाबासमा झिल्केटोलबाट राजाबासतर्फ जाँदै गरेको स १० प ४७१७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको बा ५ ख ६१७ नम्बरको टिपरले ठक्कर दिएको थियो । मोटरसाइकल चालक त्रियुगा नगरपालिका–९ का अन्दाजी ३५ वर्षीय हरि दनुवारको जिल्ला अस्पताल उदयपुरमा पुर्याउनासाथ मृत्यु भएको हो । टिपर चालक त्रियुगा –७ का २८ वर्षीय आशिष माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार चारवटै घटनामा तीव्र गति, लापरबाही र ट्राफिक नियम उल्लंघन प्रमुख कारण देखिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।


