इजरायल सहित यी चार देशमा श्रम स्वीकृति पुनः खुला
काठमाडौं । सरकारले इजरायलसहित चार देशमा रोकिएको श्रम स्वीकृति पुनः खुला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार इजरायल, कुवेत, बहराइन र लेबनानमा श्रम स्वीकृति पुनः सुरु गरिएको हो ।
अमेरिका–इजरायल र इरानको तनावका कारण पहिले सुरक्षा जोखिम देखाउँदै श्रम स्वीकृति स्थगित गरिएको थियो । हाल सम्बन्धित देशको अवस्था मूल्यांकन र परराष्ट्र मन्त्रालय अन्तर्गतको इमर्जेन्सी रेस्पोन्स टिमको सिफारिसपछि निर्णय लिइएको मन्त्रालयले जनाएको छ ।
यसअघि खाडी तथा पश्चिम एसियाका अन्य देशका लागि पनि क्रमशः श्रम स्वीकृति खुला गरिसकिएको थियो । इराकका सम्बन्धमा भने पुरानो निर्णय अनुसार प्रक्रिया अघि बढाइने बताइएको छ ।


