झापामा बिद्युतको तार सर्ट हुंदा आगलागी
झापा । झापाको भद्रपुर नगरपालिका वडा नम्बर–८ स्थित संगम चोकमा गएराति आगलागी भएको छ।
स्थानीय गणेश गौतमको तीन तल्ले पक्की घरको पहिलो तल्लामा अचानक विद्युतको तार सर्ट भई राति करिब ११:२० बजे आगलागी सुरु भएको थियो। घटनाको जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो।
प्रहरी, भद्रपुर नगरपालिकाको दमकल र स्थानीय बासिन्दाहरूको सामूहिक प्रयासमा करिब १० मिनेटभित्रै अर्थात् ११:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट घरको विद्युत मिटर बक्स जलेर पूर्ण रूपमा नष्ट भएको भए तापनि सुरक्षाकर्मी र स्थानीयको तदारुकताका कारण अन्य ठूलो क्षति हुन पाएन। यस दुर्घटनामा कुनै मानवीय वा चौपाया क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
रातिको समयमा भएको उक्त आगलागी समयमै नियन्त्रणमा आएपछि ठूलो दुर्घटना टरेको प्रहरीले उल्लेख गरेको छ।


