तमोर नदीमा बगेर ९ वर्षीय बालक बेपत्ता
ताप्लेजुङ । जिल्लाको फुङलिङ नगरपालिका–२ हान्द्रुङ र मिक्वाखोला गाउँपालिका–१ खोक्लिङ बीच भएर बग्ने तमोर नदीमा बगेर एक बालक बेपत्ता भएका छन्।
सनिवार दिउँसो करिब ०१ :३० बजेको समयमा मेरिङदेन गाउँपालिका–६ नाल्बो घर भई हाल फुङलिङ नगरपालिका–२ धोक्रेमा हेमन्त श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका निङ्मा शेर्पाका ९ वर्षीय छोरा फुर्वा शेर्पा नुहाउने क्रममा खोलाले बगाएको बताइएको छ।
घटनाबारे बालकका बुबा निङ्मा शेर्पाले दिउँसो करिब ०३:५० बजे इलाका प्रहरी कार्यालय दोभानमा जानकारी गराएपछि प्रहरी निरीक्षक दिपक लिम्बुको कमाण्डमा ५ जनाको टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो। प्रहरी टोलीले स्थानीय बासिन्दा र आफन्तहरूसँग मिलेर खोजी कार्य सञ्चालन गरे पनि साँझसम्म बालक फेला नपरेको प्रहरीले जनाएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय दोभानबाट करिब ४ किलोमिटर पूर्व–उत्तर दिशामा पर्छ। बेपत्ता बालकको खोजी कार्य अझै जारी रहेको प्रहरीको भनाइ छ।-रेडियो ताप्लेजुङ


