विद्यालयले बढायाे पालिकाको अनुमति बिना शिक्षक भर्ना प्रक्रिया
मुकेश कुमार यादव/
सिरहा, ६ बैशाख । चन्द्रलालपुरस्थित श्री जनता नमूना माध्यमिक विद्यालयले कानुनी प्रक्रिया उल्लङ्घन गर्दै शिक्षक तथा कर्मचारी भर्ना सम्बन्धी सूचना सार्वजनिक गरेको पाइएको छ।
विद्यालयका प्रधानाध्यापक ब्रहमदेव सिंह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार सिंहले पालिकाको स्वीकृति बिना नै नियम कानुनलाई लत्याउँदै शिक्षक भर्नाको विज्ञापन प्रकाशित गरेको पाइएको हो।
बिद्यालयका प्रधानाध्यापक र बिद्यालय व्यवस्थापन समितिका अध्यक्षले मनोपोली गोलबजार नगरपालिकाको शिक्षा शाखासँग समेत कुनै किसिम अनुमति नै नलिई कक्षा ८ सम्म अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु गरेको छ । त्यतिबेला पनि नियम कानुनको धजी उडाउदै अङ्ग्रेजी माध्यम कक्षा संचालन र शिक्षक भर्नाको नै अनुमति लिइएको थिएन ।
यतिसम्मको साहस किन र केका लागि गरेको होला ? कारण थियो अङ्ग्रेजी माध्यमको नाममा आफ्ना आफन्त भर्ना र रकम हिनामिना गर्न कै लागि सो नियम मिचेको देखिएको स्थानियले जनाएका छन । अङ्ग्रेजी माध्यमबाट कक्षा संचालनको नाममा प्रधानाध्यापकले आफ्नै छोरी र ब्यवस्थापन अध्यक्षले भाइ–बुहारीलाई शिक्षक भर्ना गरेको स्थानिय शिव यादव बताउँछन् ।
उनी भन्छन् , ‘यो सामुदायिक बिद्यालयलाई निजीकरण गर्न खोजिएको छ।’ प्रधानाध्यापक र बिवस अध्यक्षले बिद्यालयलाइ भर्ना केन्द्र नै बनाएको उनको आरोप छ। यतिमात्र हैन अङ्ग्रेजी माध्यमको नाममा अभिभावकसँग अबैध रुपमा सहयोग बापत व्यापक रकम असुली गरेको उनको दाबी छ।
उनका अनुसार अभिभावकसँग उठाइएको रकमको हिसाब समेत सार्वजनिक गर्न भन्दा आनाकानी गरिरहेका छन् ।’
अभिभावकहरूले उठाइएको रकमको विवरण सार्वजनिक गर्न माग थालेपछि विद्यालय प्रशासनले २०८२ चैत ३० गते निजिस्रोतबाट तलब भता खुवाउने गरि पुनः शिक्षक भर्ना प्रक्रिया अघि बढाएको छ। तर, यस पटक पनि शिक्षा शाखाको औपचारिक अनुमति नलिएको शिक्षा शाखा अधिकृत सुबोध लामाले जानकारी दिए ।
उनले भने, ‘बिद्यालयले कानुन मिचेर गरेको भर्ना प्रक्रियाको बारेमा हामिपनी अनुसन्धान थालेका छौ। यो बिद्यालय प्रशासनको मनोपोली हो।’
सामुदायिक विद्यालयमा शिक्षक नियुक्ति गर्दा स्थानीय तहको स्वीकृति, आवश्यक पदपूर्ति पुष्टि, तलब स्रोतको स्पष्टता तथा कम्तीमा १५ दिनको सार्वजनिक सूचना अवधि अनिवार्य मानिन्छ। साथै अध्यापन अनुमति पत्र समेत अनिवार्य हुने कानुनी प्रावधान रहेको।
तर, बिद्यालयले यस्को आवश्यकता नरहेकोले कुनै कतैबाट अनुमति नलिएको प्रधानाध्यापक स्वयमले स्वीकार गरेको छ। प्रधानाध्यापक ब्रहम्देव सिंह भन्छन्, ‘अरु बिधालयले यसै प्रक्रियाबाट कक्षा संचालन र शिक्षक भर्ना गरेकोले हामीलेपनि गरेका छौ।’ उनका अनुसार निजि स्रोतमा शिक्षक भर्ना गर्न पालिकासँग अनुमति नलिइ बिद्यालय व्यवस्थापन समितिले गरेको निर्णयको आधारमा शिक्षक भर्ना प्रक्रिया अगाडी बढाइएको हो ।
यता, विद्यालयले ठूलो परिमाणमा गरेको शिक्षक तथा कर्मचारीको आवश्यकतासम्वन्धि विज्ञापन स्थगित भएको छ। रित नपुर्याई निकालेको भन्दै पालिकाको शिक्षा शाखाले विज्ञापन स्थगित गरी स्पस्टिकरण माग गरेको छ।
शिक्षक भर्ना सम्वन्धि कार्यको लागि नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाईसँग अनुमति र सहमति लिनुपर्ने प्रावधान छ। तर, यो विद्यालयले सो प्रकृया पुरा नगरेकोले विज्ञापन स्थगित गरी स्पष्टिकरण माग गरिएको हो।
स्थानीय अभिभावकहरू विद्यालय प्रशासनको एकपक्षीय निर्णय र मनोपोली शैलीप्रति असन्तुष्ट देखिएको छ। विद्यालय प्रशासनले गरेको गलतीका कारण शैक्षिक गुणस्तर मात्र नभई विद्यार्थीहरूको भविष्यसंग समेत खेलवाड भैरहेको उनीहरुको भनाइ छ।
सम्बन्धित निकायहरूले यथाशीघ्र छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्नुपर्ने स्थानीयहरुले माग गरेका छन् ।


