मौलापुरमा चरम बेथिति : मेयर माथी जनप्रतिनिधिको अनेकौं आरोप

सञ्जय मिश्रा/ रौतहट । रौतहट जिल्लाको मौलापुर नगरपालिकामा चरम बेथिति बढेको भन्दै मेयरविरुद्ध जनप्रतिनिधिले नै गम्भीर आरोप लगाएका छन्।

 

बिहीबार उपमेयरसहित निर्वाचित ६ जना वडा अध्यक्षहरूले मौलापुर–१ मर्यादपुरमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरी मेयर रिना कुमारी साह र उनका श्रीमान् पूर्व मन्त्री प्रभु साहमाथि विभिन्न आरोप लगाएका हुन्।

 

पत्रकार सम्मेलनमा उपमेयर नागेन्द्र यादवले नगर प्रमुख साहको इसारामा हालै आएका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेशबाबु घिमिरेलाई हटाउन विभिन्न षड्यन्त्र भइरहेको दाबी गरेका छन्।

 

नयाँ प्रमुख घिमिरे गत शुक्रबार कार्यालयमा हाजिर भएका थिए। लगत्तै मेयर रिना कुमारी साहका छोरा विवेक साहको नेतृत्वमा युवाहरूको टोली कार्यालयमा पुगेर फुटबल तथा क्रिकेट प्रतियोगिता सञ्चालनका लागि पैसा दिन अधिकृत घिमिरेमाथि दबाब दिएको उनले बताएका छन्।

गत सोमबार सोही टोली पुनः कार्यालय पुगेर बिजुलीको महशुल भुक्तानी गर्न र छोरीको विवाहमा दिइँदै आएको आर्थिक सहयोग उपलब्ध गराउन अधिकृत घिमिरेलाई ज्ञापनपत्र बुझाएको उनले बताएका छन्।

 

गत असार १० गते भएको नगरसभामा सम्पूर्ण नगरवासीको घरायसी प्रयोजनका लागि विद्युत् महशुल भुक्तानी गर्न, छोरीको बिहेमा जनही ३० हजार रुपैयाँ सहयोग गर्न, मधानी महोत्सव लगायत नगरमा हुने विकास निर्माणका सम्पूर्ण योजना समेटेर पारित गरिएको थियो।

 

मेयर रिना कुमारी साह पहिलो पटक निर्वाचित भएदेखि यस्तै चल्दै आएको उपमेयर यादवको भनाइ छ।

 

उनका अनुसार नगरसभाको निर्णयलाई आधार बनाएर यसअघिका निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्जिनियर रामबाबु साह र लेखा अधिकृत जयप्रकाश महतो मिलेर २०७८ सालदेखि चेक काटेर सम्पूर्ण भुक्तानी गर्दै आएका थिए।

 

“बिना कार्यपालिका निर्णय, बिना उपमेयरको अनुगमन सबै भुक्तानी हुँदै आएको थियो,” उनले भनेका छन्।

हाल विद्युत् महशुल भुक्तानी र छोरीको बिहेमा दिइँदै आएको अनुदान रकम वितरण हुन सकेको छैन। गाउँ–गाउँमा नाला सफाइ हुन सकेको छैन। पिकनिक पार्क, पार्क होटल, बहुउद्देश्यीय सभागृह सजावट तथा मर्मत, बसपार्कका विभिन्न काम देखाएर पछिल्लो ६ वर्षदेखि मनपरी भुक्तानी हुँदै आएको आरोप उपमेयर यादवले लगाएका छन्।

 

“जुन शीर्षकमा मेयरलाई फाइदा हुन्छ, त्यहीँ अधिकृत रामबाबु र लेखा अधिकृत जयप्रकाशले कमिसनका आधारमा जथाभावी भुक्तानी गर्दै आएका छन्,” उनले दाबी गरेका छन्।

 

६ वर्षसम्म कुनै नियम–कानुन पालना नभएको र अधिकांश टेन्डर एउटै व्यक्ति सुनिल साहलाई परेको विषयमा पनि उनले प्रश्न उठाएका छन्।

 

उनले अहिले विद्युत् महशुल र विवाह अनुदान दिन ढिलाइ हुनुमा अनियमितताको आशंका व्यक्त गर्दै भने, “नयाँ प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेलाई टिक्न नदिने षड्यन्त्र भइरहेको छ। उनी फर्किएपछि फेरि पुरानै शैलीमा काम गर्ने नियत देखिन्छ।”

 

वडा अध्यक्षहरूले स्थानीय तहको निर्वाचन आउन एक वर्ष मात्र बाँकी रहँदा मेयर र उनका श्रीमान् प्रभु साहले आफ्नो पक्षको व्यक्ति जिताउन योजना बनाएको आरोपसमेत लगाएका छन्। गत असार १० को नगरसभापछि साउन र मंसिरमा पार्क होटलमा बसेका कार्यपालिका बैठकमा एउटै निर्णय पुस्तिकामा चारवटा बैठकको उपस्थिति लेखेर हस्ताक्षर गर्न दबाब दिइएको उनीहरूको भनाइ छ।

“निर्णय स्पष्ट लेखेपछि मात्र हस्ताक्षर गर्छौं भनेका थियौं। तर ‘जसलाई मन छ हस्ताक्षर गर, नत्र नगर’ भनियो,” उनीहरूले बताए। यस विषयमा जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी दिएको तर अहिलेसम्म कारबाही नभएको पनि उनीहरूको गुनासो छ।

त्यसयता नगरपालिका कार्यालयले कार्यपालिकाको बैठक नबोलाएको र सामाजिक सञ्जालमा आफूहरूकै कारण भुक्तानी रोकिएको भन्दै भ्रम फैलाइएको उनीहरूको आरोप छ।

“हामी बैठकमा बस्न तयार छौं, तर निर्णय स्पष्ट लेखिनुपर्छ र पारदर्शी हुनुपर्छ,” उनीहरूले भनेका छन्।

वडा अध्यक्षहरूले प्रत्येक वडाको विकास बजेटबाट ६५ लाख रुपैयाँ काटेर विभिन्न शीर्षकमा खर्च गरिने गरेको गुनासो गरेका छन्।

 

“एक वडामा वर्षमा १९ लाख मात्रै बजेट आउँछ, तर ‘गरिबसँग मेयर’ जस्ता कार्यक्रममा पैसा लगिन्छ,” उनीहरूको भनाइ छ। विभिन्न शीर्षकमा आफूखुसी भुक्तानी गरेर वार्षिक ४० करोड रुपैयाँको कागज मिलाइने आरोप पनि उनीहरूले लगाएका छन्।

आर्थिक गतिविधिबारे जानकारी नपाएको भन्दै चालु आर्थिक वर्ष २०८२/८३ को हिसाब–किताब सार्वजनिक गर्न नयाँ प्रमुख प्रशासकीय अधिकृत घिमिरेसमक्ष लिखित निवेदन दिएको उपमेयर यादवले जानकारी दिएका छन्।

 

उनीहरूले आफूहरूको कारणले विद्युत् महशुल र विवाह अनुदान भुक्तानी नरोकिएको स्पष्ट पार्दै नगरसभाजस्तै खुला छलफलमार्फत समस्या समाधान गर्न तयार रहेको बताएका छन्।

पत्रकार सम्मेलनमा उपमेयर नागेन्द्र यादवसहित वडा अध्यक्ष जयलाल महतो, शिवप्रसन यादव, ईश्वरी दयाल यादव, वीरबहादुर, श्यामकिशोर साह र चन्द्रकिशोर साह सहभागी थिए।
यता, मेयर रिना कुमारी साहले सम्पूर्ण आरोपको खण्डन गर्दै उपमेयर यादवसहित ६ जना वडा अध्यक्षको आफ्नै स्वतन्त्रता रहेको र उनीहरूले मन लागेअनुसार अभिव्यक्ति दिएको प्रतिक्रिया दिएकी छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖