पैसा नभएर टेन्सनमा हुनुहुन्छ ? उधमी बन्ने भए काठमाडौं महानगरपालिका जानु

काठमाडौं, १६ बैशाख । स्वरोजगार बन्न र रोजगारी सिर्जना गर्न काठमाडौँ महानगरपालिकाले युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग सम्झौता गरेको छ ।

 

कोषका कार्यकारी उपाध्यक्ष अनिलराज पौडेल, महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, प्रवक्ता नविन मानन्धर र सामाजिक समितिका संयोजक रामकुमार केसीको रोहवरमा महानगरपालिकाको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला र कोषका प्रशासन शाखा प्रमुख सुदप सिल्वालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

 

युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सञ्चालन) नियमावली, २०७७ अन्तर्गत सञ्चालित कोषको कर्जा लगानी तथा असुली कार्यविधि, २०७७ अन्तर्गत सहकार्यमा आधारित साझेदारी कार्यक्रम सञ्चालन गर्न सम्झौता भएको हो । 

 

सम्झौता पछि बोल्दै कार्यकारी उपाध्यक्ष पौडेलले, ‘क्षमता भएर पनि  काठमाडौँमा स्वरोजगार बन्न पैसा नपाउने, पैसा पाए पनि चक्रवर्ती ब्याँजले उक्सिनै नसकिने अवस्था अब हटाउनु पर्छ, कोष र महानगरपालिका बिचको सहकार्यले उद्यमी बन्ने वातावरण बन्दै जानेछ’ भने।

 

‘सम्मानयुक्त उद्यम, स्वरोजगार र रोजगारी सिर्जनाका लागि हामीले सहुलियत ऋणमार्फत उद्यम विकास गर्न प्रयत्न थालेका हौँ,’ महानगरपालिकका कार्यवाहक प्रमुख डंगालले भनिन,  ‘यस कार्यक्रमका असल ऋणीलाई ६० प्रतिशत व्याँज अनुदान हुनेछ, सुरुमा लिँदा ८ प्रतिशत ब्याँज हुनेछ, तोकिएको मापदण्ड अनुसार नियमित रकम फिर्ता गर्नेलाई अन्त्यमा ६० प्रतिशत अर्थात् ४.८ प्रतिशत ब्याँज अनुदानका रुपमा फिर्ता हुनेछ । यसरी ऋणीका लागि ब्याँज ३.२ प्रतिशत मात्र हुनेछ ।’  

 

‘यो कार्यक्रमबाट उद्यममा आधारित एक वडा एक नमूना कार्यक्रम, महिला समूहसहितका उद्यम गर्न वीउ पूँजी नहुनेका लागि वीउ पूँजी प्राप्त गर्ने अवसर हुनेछ, साना तथा मझौता उद्यमलाई उद्यमको स्तर उकास्ने अवसर हुनेछ।’ डंगोलको भनाइ थियो । 

 

उद्यमशीलताका लागि वडाले प्रदान गर्ने तालिमपछि के गराउने भन्ने प्रश्न आउने गरेको थियो । कार्यक्रममा सामाजिक समितिका संयोजक केसीले भने, ‘अब उद्यम विकास तालिम प्राप्त सहभागीहरुलाई स्वरोजमूलक क्षेत्रमा लगानी जुटाउन सहयोग गरिनेछ ।’

 

यो सहकार्यमा आधारित साझेदारी कार्यक्रम हो । यसका लागि दुवै पक्षले २÷२ करोड रुपियाँ राखेर छुट्टै कोष स्थापना हुनेछ । यो कोषमा भएको रकम वित्तीय संस्था तथा सहकारी संस्थामार्फत काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका स्थानीय बासिन्दालाई कर्जा लगानी हुनेछ, यसरी जम्मा भएको रकम महानगरपालिकालाई कोषले ५ वर्षपछि फिर्ता गर्नेछ । 

 

सम्झौता बमोजिम व्यवसायीलाई कर्जा लगानी गर्न कोषले बैंक, वित्तीय संस्था तथा सहकारी संस्थालाई कर्जा प्रस्तावका लागि सूचना प्रकाशन गर्नुपर्छ । यस बमोजिम सहकारीहरुका लागि सूचना प्रकाशन गरिसकेको छ । यस प्रक्रियाबाट छानिएका सहकारी संस्थाहरुलाई बढीमा १ करोड रुपियाँसम्म थोक कर्जा स्वीकृत हुने कोषको कानुनी व्यवस्था छ । बैक तथा वित्तीय संस्थाहरुलाई बढीमा ५ करोड रुपियाँसम्म थोक कर्जा दिइनेछ । 

 

कोषबाट बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाको खातामा निकासा भएको मितिले बढीमा दुई हप्ताभित्र स्वीकृत गरिएका ऋणीहरुलाई कर्जा लगानी गरी सक्नु पर्नेछ । 

 

यो कर्जा लगानी आर्थिक रुपले विपन्न, महिला, दलित, आदिवासी जनजाति, लैङिगक तथा यौनिक अल्पसङ्ख्यकका लागि हो । विदेशवाट फर्केका व्यक्ति वा तालिम प्राप्त व्यक्तिहरुलाई कर्जा लगानी हुनेछ । व्यक्तिका लागि सहुलियत ब्याज दरमा प्रति व्यक्ति अधिकतम ५ लाख रुपियाँ र समूहगत लगानी गर्नका लागि बढीमा १५ जनाको समूहमा ५० लाख रुपियाँसम्म लगानी हुनेछ । 

 

यसरी सहुलियत प्राप्त गर्न तोकिएको ढाँचामा दिइएको निवेदनका आधारमा बैंक, वित्तीय संस्था तथा सहकारी संस्था र कर्जाग्राहीको बिच सम्झौता हुनेछ । सम्झौता अनुसार कर्जाग्राहीले सावाँ र व्याजको किस्ता नियमित रुपमा चुक्ता गरेमा बुझाएको ब्याजको साठी प्रतिशतले हुन आउने रकम प्रथम पक्षले बैंक, वित्तीय संस्था तथा सहकारी संस्था मार्फत सम्बन्धित असल ऋणीलाई व्याज अनुदान वापत फिर्ता दिनेछ ।

 

लगानीका क्षेत्रहरुः 
 

एग्रोपुलिङ कार्यक्रम प्रवर्धन, नर्सरी तथा पुष्प व्यवसाय, फोहर प्रशोधन तथा न्यूनीकरण गर्ने परियोजना, हरित चक्रीय अर्थतन्त्रमा आधारित व्यवसाय, एक वडा एक नमूना कार्यक्रम अन्तर्गतका व्यवसाय, प्लम्बिङ, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल, डिजिटल सेवा, सूचना प्रविधिमा आधारित व्यवसाय लगाानीका क्षेत्र हुनेछन् । 

यस्तै साना तथा घरेलु व्यवसाय, यातायात सेवा, स्वास्थ्य तथा हेरचाह उद्योग, मर्मत तथा प्राविधिक सिपमा आधारित व्यवसाय, सिकर्मी तथा डकर्मी, रङ्गरोगन, सिल्पकार, खुद्रा तथा किराना पसल सञ्चालन जस्ता स्वदेशी श्रम, सिप, ज्ञान एवम् सानो पूँजीबाट सञ्चालन गर्न सकिने सेवामुलक स्वरोजगार व्यवसाय लगानीका क्षेत्र हुनेछन् । 

स्थानीय सिप र कच्चा पदार्थमा आधारित तथा स्थानीय स्तरमा उत्पादन हुने वस्तुको व्यवसायीकरणमा योगदान पुग्ने व्यवसाय र परम्परागत सिपसँग सम्बन्धित व्यवसाय, मूल्य श्रृङ्खलामा आधारित भएका व्यवसाय, होम स्टे पनि लगानीका क्षेत्र हुनेछन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖