२ लाख ७० हजारको ऋणमा ९१ लाखको चेक, ठगी प्रयासमा साहु–साथी पक्राउ
सञ्जय मिश्रा/रौतहट । रौतहटमा सामान्य ऋणलाई आधार बनाएर ९१ लाख रुपैयाँको चेक बाउन्स गराई ठगी गर्न खोज्ने साहु र उनका सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा सर्लाही पर्सा गाउँपालिका–२ का ३५ वर्षीय विपेन्द्र कुमार साह र सहयोगी जनकपुर उपमहानगरपालिका–२१ का दिनेश साह सोनार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी बिष्णु प्रदीप बस्यालले बताएका छन्।
प्रवक्ता बस्यालका अनुसार, गढीमाई नगरपालिका–९ का तारकेश्वर सहनीले घरायसी प्रयोजनका लागि सर्लाहीको पर्सा गाउँपालिका–२ निवासी ३५ वर्षीय विपेन्द्र कुमार साहसँग करिब एक वर्षअघि २ लाख ७० हजार रुपैयाँ ऋण लिएका थिए।
उक्त ऋणको सुरक्षाका लागि उनले लुम्बिनी विकास बैंकको खाली चेकमा हस्ताक्षर गरी दिएका थिए। सहनीले १ बर्षभित्रै विभिन्न मितिमा गरी २ लाख ४० हजार रुपैयाँ फिर्ता गरिसकेपछि बाँकी रकम किस्ताबन्दीमा तिर्ने र चेक फिर्ता दिन आग्रह गरेका थिए। तर, साहुले उल्टै ९१ लाख रुपैयाँ तिर्न बाँकी रहेको भन्दै धम्की दिन थालेका थिए।
प्रहरीका अनुसार साहुले ९१ लाखको चेक बाउन्स मुद्दामा फसाउने’ धम्की दिँदै पीडितलाई मानसिक दबाब दिएका थिए।
पीडितको उजुरीपछि गरिएको अनुसन्धानमा विपेन्द्र कुमार साहले जनकपुर उपमहानगरपालिका–२१ का दिनेश साह सोनारसँग मिलेमतो गरी खाली चेकमा अनाधिकृत रूपमा ९१ लाख रुपैयाँ भरी चेक बाउन्स समेत गराईसकेको खुलेको छ।
उक्त घटनामा संलग्न साहु विपेन्द्र कुमार साह र ठगीमा सहयोगी दिनेश साह सोनारलाई हिजो बुधबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूविरुद्ध ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
धेश प्रदेशमा ऋण कर्जा सापटी लिँदा साँवाको तीनगुणा कपाली तमसुक वा चेक लिने प्रायः चलन रहेको छ। तर यसरी कर्जा बापत ऋणीले हस्ताक्षर गरेर सादा चेक दिने घटना कमै मात्रामा देख्न पाइन्छ।


