उदयपुरमा सुरु भयो हुलाक मार्फत घरमै राहदानी पुग्ने सेवा
उदयपुर । अब उदयपुरका नागरिकले राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ।
नेपाल सरकारको शासकीय सुधार अन्तर्गत सुरु गरिएको नयाँ व्यवस्थाअनुसार हुलाक सेवामार्फत घरमै राहदानी पुर्याउने सेवा उदयपुरमा औपचारिक रूपमा सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ।
नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत १३ गतेको निर्णयअनुसार सरकारी सेवा घरदैलोमै पुर्याउने उद्देश्यले हुलाक सेवालाई ‘गभर्नमेन्ट कुरियर सर्भिस’ का रूपमा विकास गर्ने योजना अघि बढाइएको थियो।
सोही योजना कार्यान्वयन गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुर र जिल्ला हुलाक कार्यालय उदयपुरबीच हिजो वैशाख १७ गते सम्झौता भई सेवा सुरु गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत पदमराज उपाध्यायले बताए।


