बोक्सी आरोपको बर्बरताः पूर्व वडा सदस्य दलित महिलालाई मलमूत्र खुवाइयो
सञ्जय मिश्रा/रौतहट, २० वैशाख । रौतहटको कटहरिया नगरपालिकामा बोक्सीको आरोपमा एक दलित महिला माथि गरिएको अमानवीय र जघन्य व्यवहारले मानवताको सीमा नै नाघेको छ। कटहरिया–९ की करिब ५५ वर्षीया पूर्व वडा सदस्य अंकलिया देवी मुसहरिनलाई स्थानीय केही व्यक्तिहरूले बलपूर्वक मानव मलमूत्र खुवाएको घटना सार्वजनिक भएको हो।
घटना शनिबार साँझ करिब ७ बजे डूमरिया मुसहरी टोलमा भएको हो। छिमेकी पुकार माझीको घरमा बिहेको अवसरमा पर्साबाट आएको जन्तीमा सहभागी एक १० वर्षीय बालकले अचानक बान्ता गरेपछि त्यसैलाई निहुँ बनाएर ‘जादुटुना गरेको’ आरोप लगाउँदै करिब १५–२० जनाको समूहले महिलामाथि आक्रमण गरेको आरोप छ।
पीडितकी छोरी सुमिला देवी मुसहरिनका अनुसार, “हामी आमा–छोरी मात्र घरमा थियौँ। अचानक भीड घरभित्र पस्यो, आमालाई समातेर बियरको बोतलमा घोलेर ल्याएको मलमूत्र जबरजस्ती ख्वायो।” विरोध गर्दा सामान्य कुटपिट समेत गरिएको उनले बताइन्।
घटनापछि सूचना पाउने बित्तिकै इलाका प्रहरी कार्यालय कटहरियाबाट सई मोहन आले मगरको नेतृत्वमा पुगेको टोलीले अचेत अवस्थामा रहेकी महिलालाई उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाएको थियो। उपचारपछि उनको अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, घटनालगत्तै आरोपितहरूलाई पक्राउ गर्न जाँदा स्थानीयको भीडले प्रहरीमाथि नै आक्रमणको प्रयास गरेको थियो। अहिले पीडितलाई इलाका प्रहरी कार्यालय गरुडामा राखिएको छ भने आरोपीहरूको खोजी कार्य तीव्र बनाइएको छ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी शंकर प्रसाद आचार्यले घटनाको गम्भीर अनुसन्धान भइरहेको र दोषी जो–कोहीलाई कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पारेका छन्। उनका अनुसार, इन्स्पेक्टरको कमाण्डमा थप प्रहरी टोली परिचालन गरिएको छ।
स्थानीय मुसहर समुदायमा विवाहपछिको ‘सरियतिया’ (छोरी पक्षको जन्ती) आउने चलन रहेको छ, जहाँ भोज र मदिरा सेवन गरिन्छ। तर यही परम्पराको बीचमा फैलिएको अन्धविश्वासले यस्तो जघन्य अपराध जन्माएको देखिन्छ।
यो घटना केवल एक व्यक्तिमाथिको अत्याचार होइन, समाजमा अझै जरा गाडेर बसेको अन्धविश्वास, जातीय विभेद र कानुनी चेतनाको अभावको भयावह उदाहरण हो। उक्त घटनामा स्थानीय पुकार माझी मुसहर,राजेन्द्र माझी मुसहर,लक्ष्मी माझी मुसहर,शंकर माझी मुसहर, सुरेन्द्र ठाकुर लोहार, गौरी साह कलवार लगायत मुख्य आरोपी रहेको पिडत परिवारले जनाएको छ।


