धरान स्थित जिरो प्वाइन्टमा ईभी गाडी दुर्घटना हुँदा चालक सहित १० जना घाइते
सुनसरी । सुनसरीको धरान–१३ स्थित जिरो प्वाइन्टमा आज बिहान ईभी गाडी दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन्।
गाईघाटबाट तिनजुरेतर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ज ०३१० नम्बरको ईभी गाडी बिहान करिब ७ः३० बजे अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा सप्तकोशी नगरपालिका–४ फत्तेपुरकी ३० वर्षीया इन्दिरा श्रेष्ठ, ३३ वर्षीया अनु श्रेष्ठ, ३२ वर्षीया बिबता श्रेष्ठ, १५ वर्षीया आईस्न्या आचार्य, ३१ वर्षीया सुजता बटुवाल, ४० वर्षीया अन्जु आचार्य, इटहरी उपमहानगरपालिका–१६ की ३१ वर्षीया सुलोचना भट्टराई, सप्तकोशी नगरपालिका–४ की २० वर्षीया मनिषा विष्ट, ३२ वर्षीया सविता विष्ट तथा चालक त्रियुगा नगरपालिका–४ निवासी २२ वर्षीय सागर परियार घाइते भएका छन्।
घाइते सबैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा उपचार भइरहेको छ। प्रतिष्ठानका अनुसार घाइतेहरूको अवस्था खतरा मुक्त रहेको छ।


