रौतहटमा लागुऔषध नियन्त्रणदेखि सुधार सम्मको अभियान सुरु
सञ्जय मिश्रा/रौतहट, २८ वैशाख । रौतहटमा बढ्दो लागुऔषध दुव्र्यसन नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय रौतहटले “लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान” सुरु गरेको छ। शुक्रवार सदरमुकाम गौरमा आयोजित विशेष कार्यक्रममार्फत अभियानको औपचारिक शुभारम्भ गरिएको हो।
जिल्ला प्रहरी प्रमुख एसपी सिताराम रिजालले अभियान केवल पक्राउ र कारबाहीमा सीमित नरहने स्पष्ट पार्दै लागुऔषध सेवनकर्ताको खोजी, परामर्श, उपचार तथा पुनर्स्थापनालाई प्राथमिकतामा राखिएको बताएका थिए। उनका अनुसार लागुऔषध समस्या कानुनी विषय मात्र नभई सामाजिक, पारिवारिक र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको गम्भीर चुनौती भएकाले नियन्त्रणसँगै सुधारलाई पनि समान रूपमा अघि बढाउन आवश्यक रहेको छ।
प्रहरीले स्थानीय तह, जनप्रतिनिधि, स्वास्थ्य संस्था, अभिभावक तथा समुदायसँग सहकार्य गरी जिल्लाभित्र रहेका सेवनकर्ताको पहिचान गर्ने योजना बनाएको छ। पहिचानपछि उनीहरूलाई परामर्श, उपचार र लत छुटाउने कार्यक्रममार्फत समाजमा पुनःस्थापित गरिने एसपी रिजालले जानकारी दिएका थिए।
उनले लागुऔषध प्रयोगकर्तालाई केवल अपराधीका रूपमा नभई सुधार आवश्यक व्यक्तिका रूपमा हेर्नुपर्ने धारणा राख्दै परिवार र समाजको साथबिना अभियान सफल हुन नसक्ने उल्लेख गरे।
अभियानअन्तर्गत विभिन्न पालिकामा पुगेर सचेतनामूलक कार्यक्रम, तथ्यांक संकलन, परामर्श सेवा तथा उपचारका लागि सम्बन्धित निकायसँग समन्वय गरिने प्रहरीले जनाएको छ। पछिल्लो समय विशेषगरी युवापुस्तामा लागुऔषधको प्रयोग बढ्दै गएको निष्कर्षपछि प्रहरीले विशेष रणनीतिसहित अभियान सञ्चालन गरेको हो।
यसैबीच, “विद्यालय सम्पर्क कार्यक्रम–२०८२” अन्तर्गत यमुनामाई गाउँपालिका–१ चिकना जेठरहियास्थित श्री माध्यमिक विद्यालयमा सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र गरुडाको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देवेन्द्र यादवको अध्यक्षता रहेको थियो। कार्यक्रममा कक्षा ९, १० र ११ मा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारी गरी ९१ जनाको सहभागिता रहेको प्रहरीले जनाएको छ।
महिला सेल गरुडाकी प्रमुख सई दीपिका ओझाले जबरजस्ती करणी, घरेलु हिंसा, बालविवाह, बालश्रम शोषण, मानव बेचबिखन, बाल यौन दुर्व्यवहार, जातीय छुवाछुत, दाइजो प्रथा, साइबर अपराध, लागुऔषध तथा यौनजन्य हिंसासम्बन्धी विषयमा प्रशिक्षण दिएकी थिइन्।
प्रशिक्षणका क्रममा स्मार्ट बोर्डमार्फत श्रव्य–दृश्य सामग्रीसमेत प्रदर्शन गरिएको थियो। पछिल्लो समय रौतहटमा घरेलु हिंसा, साइबर अपराधलगायत सामाजिक घटनाको नियन्त्रणमा महिला सेल प्रमुख सई ओझाले सक्रिय भूमिका खेलेको स्थानीयको भनाइ छ।


