सुनसरीको धरानमा छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक युवक पक्राउ
सुनसरी, वैशाख २८ गते । सुनसरीको धरान उप-महानगरपालिका-१० का २७ बर्षीय जीवन भुजेललाई छुरा प्रहार गरी हत्यामा गरेको आरोपमा धरान-१९ का २८ बर्षीय जिमी भन्ने अर्जुन बि.क.लाई प्रहरीले पक्राउ गरेको छ ।
वैशाख २७ गते दिउँसो आपसी विवादको क्रममा वि.क.ले छुरा प्रहार गर्दा घाइते भएका भुजेलको विराट नरसिङहोम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो ।
घटना पश्चात फरार रहेका बि.क.लाई खोज तलास गर्ने क्रममा मोरङको बेलबारी नगरपालिका-११ स्थितमा लुकीछिपी बसेको अवस्थामा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
हत्या आरोपमा पक्राउ परेका बि.क.को इलाका प्रहरी कार्यालय धरानबाट आवश्यक थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।


