एसईई पूरक परीक्षा असार १ गतेदेखि: ‘एनजी’ आएका सबै विषयमा परीक्षा दिन पाउने बोर्डको लचिलो निर्णय
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा ‘एनजी’ (नन–ग्रेडेड) प्राप्त गर्ने विद्यार्थीहरूका लागि आगामी असार १ गतेदेखि ग्रेड वृद्धि अर्थात् पूरक परीक्षा सञ्चालन गर्ने भएको छ।
नियमित परीक्षामा सहभागी भएर कुनै वा एकभन्दा बढी विषयमा न्यूनतम ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीहरूको शैक्षिक सत्र खेर जान नदिन बोर्डले पूरक परीक्षाको तयारी गरेको हो।
यस वर्ष बोर्डले ग्रेड वृद्धि परीक्षासम्बन्धी नीतिमा महत्त्वपूर्ण परिवर्तनसमेत गरेको छ। विगतमा बढीमा दुई विषयसम्म मात्र पूरक परीक्षा दिन पाउने व्यवस्था रहेकामा अब नियमिततर्फका परीक्षार्थीले ‘एनजी’ आएको सबै विषयमा परीक्षा दिन पाउने भएका छन्।
बोर्डका अनुसार नयाँ व्यवस्थाले धेरै विषयमा ग्रेड नपुगेका विद्यार्थीलाई पनि पुनः परीक्षा दिएर आफ्नो नतिजा सुधार गर्ने अवसर प्रदान गर्नेछ।
असार १ गतेदेखि सञ्चालन हुने पूरक परीक्षाको विस्तृत समय तालिका र परीक्षा केन्द्रसम्बन्धी जानकारी भने बोर्डले चाँडै सार्वजनिक गर्ने जनाएको छ।
बोर्डको यो निर्णयले ‘एनजी’ नतिजाका कारण चिन्तित विद्यार्थी र अभिभावकलाई राहत मिल्ने अपेक्षा गरिएको छ।


