भोजपुरमा बालबालिकासँग सम्बन्धित आधारभूत सुरक्षा तथा अन्य उपयोगी जनचेतनामूलक कार्यक्रम सम्पन्न
भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरको आयोजनामा बालबालिकासँग सम्बन्धित आधारभूत सुरक्षा तथा अन्य उपयोगी जानकारीसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।
मंगलबार भोजपुर नगरपालिका–४ दावाँस्थित श्री सिद्धेश्वर माध्यमिक विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा कक्षा ९ देखि ११ सम्म अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक महेन्द्र पराजुलीको संयोजकत्वमा सञ्चालन गरिएको कार्यक्रममा बालबालिकाको सुरक्षा, सचेतना, सामाजिक जिम्मेवारी तथा दैनिक जीवनमा उपयोगी विभिन्न विषयमा जानकारी प्रदान गरिएको प्रहरीले जनाएको छ।
कार्यक्रममा विद्यार्थीहरूलाई विभिन्न जोखिमबाट सुरक्षित रहने उपाय, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, बालअधिकार तथा सचेतनामूलक विषयमा अन्तरक्रियासमेत गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय भोजपुरले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक सोच, आत्मसुरक्षा सम्बन्धी ज्ञान तथा सचेतना अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ।


