सुनसरीको इटहरीबाट खैरो हेरोइनसहित बाबु–छोरा पक्राउ
सुनसरी । सुनसरीको इटहरीमा खैरो हेरोइनसहित बाबु–छोरा पक्राउ परेका छन् ।
इटहरी उपमहानगरपालिका–१८ रैहिपुरस्थित घरबाट लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार साँझ छापा मारेको हो।
प्रहरीले ४८ वर्षीय शीतल चौधरीको घरमा खानतलासी गर्दा ३ दशमलव ४८० मिलिग्राम ब्राउन सुगर (खैरो हेरोइन) बरामद गरेको जनाएको छ।
छापाका क्रममा प्रहरीले लागुऔषध कारोबारमा प्रयोग हुने डिजिटल तराजु, को २३ प ६४१८ र मे १ प ३९९५ नम्बरका दुई मोटरसाइकल, नगद ८१ हजार ३४० रुपैयाँ तथा दुई थान मोबाइलसमेत बरामद गरेको छ।
घटनापछि प्रहरीले ४८ वर्षीय शीतल चौधरी र उनका २३ वर्षीय छोरा सुशान्त चौधरीलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानबाट बाबु–छोराले घरबाटै लागुऔषध कारोबार सञ्चालन गर्दै आएको खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय पकलीको हिरासतमा राखिएको छ। उनीहरूविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।


