कुटपिट गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
गुल्मी । गुल्मीमा श्रीमतीको कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। ईस्मा गाउँपालिका-६ साहुघर बस्ने ४५ वर्षीय थमन बहादुर कुमाललाई ४३ वर्षीया श्रीमती एमी कुमालको हत्या गरेको आरोपमा प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, थमनको कुटपिटबाट एमी गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट धनार्जेबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घाइते एमीलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
श्रीमतीलाई कुटपिट गर्ने थमनलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ। घरायसी विवाद वा अन्य के कारणले कुटपिट भएको हो भन्नेबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


