जुवातास खेलिरहेका १५ जना पक्राउ
चितवन । चितवनको भरतपुर महानगरपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन्।
भरतपुर महानगरपालिका–२६ स्थित जुनेली गाउँ र दिव्यनगरमा जुवा खेलिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा भरतपुर–२६ का ४० वर्षीय तीर्थराज बास्तोला लगायत १५ जना रहेका छन्। इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो उनीहरूलाई जुवाको खालबाटै पक्राउ गरेको हो।
प्रहरीले जुवाको खालबाट नगद ५९ हजार २ सय २० रुपैयाँ र ६ बुक तास समेत बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरूमाथि जुवा ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


