राष्ट्रपति पौडेल र राष्ट्रसङ्घका आवासीय संयोजक याहियाबीच शीतल निवासमा शिष्टाचार भेट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता गरेकी छन्।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच उनीहरूबीच आज भेटवार्ता भएको हो।
उक्त भेटघाटका अवसरमा राष्ट्रपति पौडेल र आवासीय संयोजक याहियाबीच नेपाल र संयुक्त राष्ट्रसङ्घबीच रहिआएको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित तथा द्विपक्षीय सहयोगलाई आगामी दिनमा अझ बढी प्रभावकारी र मजबुत बनाउँदै लैजाने लगायतका विविध महत्त्वपूर्ण विषयहरूमा केन्द्रित रहेर छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।


