मोरङको मिक्लाजुङमा लोपोन्मुख राउटे समुदायको संस्कृति झल्काउने विशेष मेला
मिक्लाजुङ । घुमन्ते सभ्यता बोकेको लोपोन्मुख राउटे समुदाय को संस्कार, भाषा र संस्कृतिबारे जानकारी गराउने उद्देश्यले मोरङको मिक्लाजुङ गाउँपालिका–३ नेसेलुङ मा विशेष मेला सञ्चालन भइरहेको छ।
कर्णाली प्रदेश बाट आएका करिब २५ जना राउटे समुदायका सदस्यहरूको सहभागितामा आयोजित मेलाप्रति पूर्वका स्थानीयवासीमा विशेष चासो र आकर्षण देखिएको छ। मेलामा राउटे समुदायले परम्परागत रूपमा बनाउने काठका सामग्रीहरूको प्रदर्शन तथा किनबेच भइरहेको छ।
मेला एक सातासम्म सञ्चालन हुने लक्ष्य रहेको नेसेलुङ पर्यटन समितिका अध्यक्ष खगेन्द्र मादेन ले जानकारी दिनुभयो।
लोपोन्मुख राउटे समुदायको सांस्कृतिक पहिचानसँगै लिम्बु समुदायको संस्कृति, स्थानीय समुदायको रहनसहन तथा विविध पक्ष उजागर गर्न यस्ता कार्यक्रम फलदायी हुने अपेक्षा गरिएको नेसेलुङ फनपार्क का सञ्चालक अशोक चेम्जोङ ले बताउनुभयो।
देशकै पहिलो उल्टोघर, भ्यूटावर, चिल्ड्रेन पार्कसहितको क्षेत्रमा विभिन्न मनोरञ्जनात्मक खेल, तमासा तथा जाति विशेष खानाका स्टलहरू समेत समावेश गरिएको पार्क निर्माणका पहलकर्ता एवं पूर्व प्रदेश सांसद कुशल साम्बा ले जानकारी दिनुभयो।


