झापाको कमलमा मोटरसाइकलको ठक्करबाट एक वृद्ध पैदल यात्रीको मृत्यु
झापा । झापाको कमल गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक वृद्ध पैदल यात्रीको मृत्यु भएको छ।
कमल गाउँपालिका–१ स्थित इट्टाभट्टा भित्री सडकखण्डमा हिँडिरहेका स्थानीय ७० वर्षीय शंकरप्रसाद ढुंगानालाई मोटरसाइकलले ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
जेठ २ गते बेलुका करिब साढे ६ बजे सोलमारीबाट केर्खातर्फ जाँदै गरेको को १० प १४८० नम्बरको मोटरसाइकलले ढुंगानालाई ठक्कर दिएको थियो। दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए।
प्रहरीका अनुसार ठक्करबाट ढुंगानाको बायाँ खुट्टा र कानमा गम्भीर चोट लागेको थियो भने अत्यधिक रक्तस्रावसमेत भएको थियो। उनी बोल्न नसक्ने अवस्थामा पुगेपछि तत्काल उद्धार गरी उपचारका लागि दमकस्थित निम्स अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल रेफर गरिएको थियो।
उपचारकै क्रममा सोही राति ११ः४५ बजे ढुंगानाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल र चालक कमल गाउँपालिकाकै ३५ वर्षीय लुडो सतारलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ। प्रहरीले शव पोस्टमार्टमका लागि पठाएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


