पाँचथरमा अंक र अक्षर लेख्न नसकेको भन्दै चार वर्षीय बालकमाथि कुटपिट गरेको आरोपमा एक शिक्षिका पक्राउ
पाँचथर । पाँचथरमा अंक र अक्षर लेख्न नसकेको भन्दै चार वर्षीय बालकमाथि कुटपिट गरेको आरोपमा एक शिक्षिका पक्राउ परेकी छन् । फिदिम नगरपालिका–१४ स्थित न्यु लुङरुपा बोर्डिङ एकेडेमीमा कार्यरत शिक्षिका सुमित्रा सेन्दाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
वैशाख ३० गते बुधबार एलकेजीमा अध्ययनरत सेसेफुङ नेम्वाङलाई लेख्न नसकेको निहुँमा शिक्षिका सेन्दाङले कुटपिट गर्दा बालकको ढाडभरि नीलडाम र चोट लागेको बताइएको छ ।
पीडित बालककी आमाले शिक्षिकाविरुद्ध जाहेरी दिएपछि प्रहरीले ‘बालबालिकासम्बन्धी कसुर’ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको पाँचथरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए ।
उनका अनुसार जिल्ला अदालतबाट शिक्षिकाविरुद्ध पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।
घटनापछि बालकलाई उपचारका लागि फिदिमस्थित गणेशमानसिंह सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो । उपचारपछि स्वास्थ्य अवस्था सामान्य बनेपछि आइतबार अस्पतालबाट डिस्चार्ज गरी घर पठाइएको प्रहरीले जनाएको छ ।


