वर्षौंदेखिको प्रतीक्षा अन्त्य, सहकारी बचतकर्ताको हातमा फर्किन थाल्यो पैसा
काठमाडौं, ०५ जेठ । लामो समयदेखि आफ्नो बचत फिर्ताको प्रतीक्षामा रहेका समस्याग्रस्त सहकारीका बचतकर्ताका लागि सरकारले राहत प्रक्रिया सुरु गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आइतबारदेखि बचत फिर्ता अभियान थाल्दै पहिलो चरणमा तीन सहकारी संस्थाका ३७८ जना साना बचतकर्तालाई रकम उपलब्ध गराएको हो।
समितिका अनुसार कान्तिपुर सहकारीका २१५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ जना तथा पशुपति सहकारीका ७ जना बचतकर्ताले आफ्नो रकम फिर्ता पाएका छन्। प्रारम्भिक चरणमा न्यून बचत भएका व्यक्तिलाई प्राथमिकता दिइएको समितिले जनाएको छ।
अब बचत रकमको आधारमा वर्गीकरण गर्दै चरणबद्ध रूपमा अन्य बचतकर्तालाई पनि रकम फिर्ता गरिने तयारी गरिएको छ। समितिका अनुसार हाल समस्याग्रस्त सहकारीमा झण्डै ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी छ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन्।
५ लाख रुपैयाँभन्दा कम बचत गर्ने व्यक्तिलाई साना बचतकर्ता र सोभन्दा माथि रकम बचत गर्नेलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। समितिका अनुसार कुल बचतकर्तामध्ये १८ हजार जनाले मात्रै ५ लाखभन्दा बढी रकम बचत गरेका छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्तालाई प्रभावकारी बनाउन सहकारीका ऋणीबाट ऋण असुली प्रक्रिया पनि तीव्र बनाइएको बताइन्। ऋणीहरूको विवरण सार्वजनिक गरिएपछि ऋण तिर्ने क्रम बढेको र हालसम्म २ करोड रुपैयाँभन्दा बढी रकम असुल भइसकेको समितिले जनाएको छ।


