ओखलढुङ्गामा ४ दिने रेडियो विकास तथा प्रवर्द्धन तालिम सुरु
ओखलढुङ्गा । ओखलढुङ्गाको सदरमुकाममा ४ दिने रेडियो विकास तथा प्रवर्द्धन तालिम आजदेखि सुरु भएको छ।
रमाइलोडाँडामा रहेको पाथिभरा होटलमा सञ्चालन भइरहेको तालिमको उद्घाटन कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले गर्नुभएको हो।
१४ जिल्लाबाट आएका ४४ जना रेडियो व्यवस्थापक तथा सञ्चालक समितिका पदाधिकारी सहभागी तालिम उद्घाटन गर्दै मन्त्री पराजुलीले समाज रूपान्तरणमा रेडियोको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले आगामी बजेटमा रेडियो क्षेत्रलाई उल्लेखनीय सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
कार्यक्रममा जिल्ला समन्वय समिति ओखलढुङ्गाका टेकराज भट्टराई, सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिजाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले सञ्चारगृहप्रति विभेद हुने गरी बनाइएको विज्ञापन नीति सुधार गर्न सरकारसँग माग गरेका छन्।
तालिमको पहिलो दिन पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले सञ्चारगृहको अवस्था, सरकारी लगानी तथा संविधानमा उल्लेखित सञ्चार अधिकारबारे जानकारी दिनुभएको थियो। त्यस्तै दोस्रो सत्रमा सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय कोषाध्यक्ष तुला अधिकारीले रेडियो व्यवस्थापनका चुनौती र दिगोपनाबारे छलफल गर्नुभयो।
चार दिनसम्म सञ्चालन हुने तालिम सामुदायिक रेडियो प्रसारक संघ कोशी प्रदेशको व्यवस्थापनमा तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ।


