काशी नोबलका छात्र रिशनले जिते दुई अन्तर्राष्ट्रिय पदक
सिद्धार्थनगर । अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा काशी नोबल एकेडेमी भैरहवाका विद्यार्थी रिशन थापा मगरले उत्कृष्ट प्रदर्शन गर्दै दुई विधामा पदक हासील गरेका छन्। दोलखाको चरीकोटमा सम्पन्न ‘लेट एफएम सुजेन्द्र प्रसाद मेमोरियल चेस प्रतियोगिता’ मा उनले उल्लेखनीय सफलता हात पारेका हुन्।
कक्षा ८ मा अध्ययनरत रिशनले क्लासिकलतर्फ अन्डर–१४ उमेर समूहमा स्वर्ण पदक जिते भने र्यापिडतर्फ १६०० बिलो रेटिङ समूहमा दोस्रो स्थान हासिल गरे। नेपालसहित भारत, अमेरिका र बंगलादेशलगायत ७ देशका १५० भन्दा बढी खेलाडी सहभागी प्रतियोगितामा उनको प्रदर्शनलाई विशेष उपलब्धिका रूपमा हेरिएको छ।
विद्यालयका कोर्डिनेटर निर्मल हुमागाइ ले रिशनको सफलताले विद्यालय परिवार उत्साहित र गौरवान्वित भएको बताए। उनका अनुसार विद्यालयले विद्यार्थीहरूको शैक्षिक विकाससँगै खेलकुद र सिर्जनात्मक गतिविधिलाई पनि समान प्राथमिकता दिँदै आएको छ।
विद्यालयबाटै चेस खेल्न थालेका रिशनले छोटो समयमै प्रदेश, जिल्ला तथा लुम्बिनी विश्वविद्यालयस्तरीय प्रतियोगितामा समेत सफलता हासिल गरिसकेका छन्। उनले आफ्नो उपलब्धिको श्रेय विद्यालय, प्रशिक्षक र अभिभावकलाई दिएका छन्।
रिशनको सफलतापछि काशी नोबल एकेडेमीका चेस प्रशिक्षक तथा ‘द नेक्स्ट मुभ चेस एकेडेमी’ बुटवलका उपाध्यक्ष शिवम विश्वकर्मा ले उनलाई एक वर्षका लागि निःशुल्क छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका छन्। उनका अनुसार चेसले विद्यार्थीको अध्ययन र अनुशासन दुवैमा सकारात्मक प्रभाव पार्ने भएकाले विद्यालयले विभिन्न राष्ट्रिय प्रतियोगितामा नियमित सहभागिता जनाउँदै आएको छ।
चेसमा प्रत्येक खेलाडीलाई करिब एक घण्टा समय दिइने खेललाई क्लासिकल तथा १० देखि ३० मिनेटभित्र खेलिने विधालाई र्यापिड भनिन्छ।


