झापामा आफ्नै पत्नीको ‘बाम्पोक’ प्रहार गरि हत्या
झापा । झापाको हल्दीबारी गाउँपालिका–५ कञ्चनश्रीमा पत्नीको हत्या गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४४ वर्षीय गोकर्ण भण्डारी रहेका छन्।
प्रहरीका अनुसार मंगलबार राति करिब ११ बजे गोकर्णले आफ्नी ३३ वर्षीया पत्नी उर्मिला भण्डारीमाथि धारिलो हतियार ‘बाम्पोक’ प्रहार गरेका थिए। टाउकोमा गम्भीर चोट लागेपछि उर्मिलाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी सहायक निरीक्षक छविहाङ शेर्माको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले आरोपित गोकर्णलाई नियन्त्रणमा लिएको जनाएको छ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय झापा बाट डीएसपी खगेन्द्रबहादुर खड्काको नेतृत्वमा थप प्रहरी टोली घटनास्थल पुगेको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।


