झापाको मेचीनगरमा निर्माणाधीन खानेपानी ट्यांकीबाट खसेर एक मजदुरको मृत्यु
झापा । झापाको मेचीनगर नगरपालिका–५ शान्ति टोलमा निर्माणाधीन खानेपानी ट्यांकीबाट खसेर एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका ५२ वर्षीय दिननाथ पराजुली रहेका छन्।
प्रहरीका अनुसार शनिबार दिउँसो करिब १२ः३० बजे निर्माणाधीन ट्यांकीको सेटरिङका लागि प्रयोग गरिएको बाँस खोल्ने क्रममा पराजुली तीन तला माथिबाट भुइँमा खसेका थिए। उचाइबाट खसेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि बी एन्ड सी अस्पताल पुर्याइएको थियो।
अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय अनारमनी को टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरेको थियो।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


