काठमाडौं महानगरपालिकाले ८ वटा पार्कमा राख्यो मौरीका घार

काठमाडौं, ६ बैशाख । काठमाडौँ महानगरपालिकाले विभिन्न ८ वटा पार्कमा मौरीको घार राखेको छ । 

 

करिब ९ लाख रुपियाँ लागतमा सेरेना जातका रैथाने मौरीलाई आधुनिक घार बनाएर पार्कहरुमा राखिएको हो । यो जातका मौरीहरु उच्च पहाडी, मध्य पहाडी र तराई क्षेत्रमा पाइने मौरी हुन् । यी मौरीहरुले सृष्टिको सन्तुलन र बोटविरुवाको वंश जोगाउने काम गरिरहेका हुन्छन् । 

 

यी मौरीका घारहरु महानगरपालिकाले नमूना कार्यक्रमका रुपमा राखेको हो । यसबाट प्राप्त हुने नतिजाका आधारमा थप कार्यक्रम सञ्चालन हुनेछन् । कार्यक्रमको पहिलो चरणमा शंखधर उद्यान (रत्नपार्क) मा २ घार, वडा नम्वर ३ को रानीवारी सामुदायिक बन भित्र ४ घार, वडा नम्बर १६ को वालाजु वाइसधारा उद्यान भित्र ५ घार, यही वडाको गुरु नानक पार्कमा २ घार, वडा नम्बर ४ को शंखपार्कमा २ घार, वडा नम्बर ६ को लाखे पोखरी पार्कमा २ घार मौरी राखिएका छन् । 

 

यस्तै वडा नम्बर १४ को भुवनेश्वरी पार्कमा ४ घार र वडा नम्बर ३२ को मदन भण्डारी पार्कमा २ घार राखिएको आयोजनाका इञ्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिए ।

 

‘एउटा घारमा १४ हजारदेखि २२ हजारसम्म मौरी बस्छन्, यो भन्दा धेरै संख्यामा माहुरी भए भने छुट्टै रानी मौरी बनाएर समूह विभाजन गरेर बस्छन् । हामी एउटा घारबाट मौरीको संख्या बढेर धेरै हुन् भन्नका लागि वातावरण मिलाउँदै जान्छौँ,’ श्रेष्ठले भने  । उनका अनुसार घारको सुरक्षाका लागि फलामे बार राखिएको बताउँदै पार्कमा रैथाने विरुवा र फूल रोप्ने कामलाई बढाउने, विरुवामा प्राकृतिक मल राख्ने, विरुवा जोगाउन प्राकृतिक उपचार विधि अपनाउने, विषादीको प्रयोग रोक्ने योजना रहेको छ ।

 

वातावरण संरक्षणका दृष्टिले मौरीलाई पारिस्थितिकीय इञ्जिनियरका रुपमा लिइन्छ । मौरीको अभावमा पृथ्वीको जैविक विविधता र खाद्य सुरक्षा दुवै संकटमा पर्न सक्छन् । फूलहरुको पराग सेचनका लागि मौरीलाई मुख्य माध्यम मानिन्छ । एउटा फूलबाट अर्को फूलमा पराग कण ओसारेर बिरुवाहरूको प्रजनन प्रक्रियामा मौरीको ठुलो भूमिका हुन्छ । संसारका लगभग ८०५ भन्दा बढी फूल फुल्ने बिरुवा र एक तिहाइभन्दा बढी खाद्य बालीहरू पराग सेचनका लागि मौरीमा निर्भर हुन्छन् । मौरीको यही भूमिकाले फलफुल, बालीनाली र वनजंगलको विकास तथा विस्तार स्वभाविक र स्वचालित रुपमा भइरहेको हुन्छ । 

वनस्पतिहरूको विविधता कायम राख्ने मौरीको यही कामले गर्दा अन्य वन्यजन्तु, चराचुरुङ्गी र कीराहरूका लागि बासस्थान र आहारा सुनिश्चित हुन्छ । मौरीको यो गुणको उपयोग गरेर काठमाडौँ महानगरपालिकाले जैविक विविधता तथा पारिस्थितिकीय अवस्थालाई जोगाउने योजना बनाएको बताइएको छ ।

पारिस्थितिकीय स्वास्थ्यको सूचक मौरी निकै संवेदनशील जीव हो ।  इञ्जिनियर श्रेष्ठले भने,  ‘मौरीको संख्या  घट्नुले वातावरणीय प्रदुषण, विषादीको अत्याधिक प्रयोग र जलवायु परिवर्तनबाट परेको नकारात्मक असरको संकेत हो । यसकारण मौरीको जीवन चक्रलाई सूचक मानेर हामी वातावरणीय सुरक्षाका लागि काम गर्नेछौँ ।’

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।