भालुको आक्रमणबाट बुढा गम्भीर घाइते
जुम्ला। गुठिचौर गाउँपालिका–३ गज्र्याङ्गकोट गाउँका २४ वर्षीय शैचिन बुढा भालुको आक्रमणबाट गम्भीर घाइते भएका छन्।
बुधबार बिहान आफ्ना भेँडाबाख्रा चराउन गएका बेला उनीमाथि भालुले आक्रमण गरेको हो। घाइते बुढा एक्लै भेँडाबाख्रा चराउन सानो गुठिचौर क्षेत्रमा पुगेका बेला जङ्गल नजिकैबाट आएको भालुले अचानक आक्रमण गर्दा गम्भीर घाइते भएका थिए।
भालुले शैचिन बुढाको अनुहार, हात तथा शरीरका अन्य भागमा चिथोरेर सख्त घाइते बनाएको छ।
घटनालगत्तै स्थानीयवासीको सक्रियतामा उनको उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (जुम्ला) मा पुर्याइएको छ। अस्पतालमा उनको आकस्मिक उपचार जारी रहेको छ।


