काठमाडौंको गेस्ट हाउसमा लेटाङका युवा मृत फेला
मोरङ, ८ जेठ । मोरङको लेटाङ नगरपालिका–१ आरुबोटेका कर्ण मगर काठमाडौंस्थित एक गेस्ट हाउसमा मृत अवस्थामा फेला परेका छन्।
मलेसियाबाट छुट्टीमा घर आएका मगर पुनः रोजगारीका लागि मलेसिया फर्किने क्रममा काठमाडौं पुगेका थिए। जेठ ७ गते काठमाडौंको न्यु नेपाल गन्ज तनहुँ गेस्ट हाउसमा उनको शव फेला परेपछि परिवार तथा आफन्त शोकमा डुबेका छन्।
परिवारका अनुसार मगर केही समयअघि मलेसियाबाट घर आएका थिए। छुट्टी सकेर पुनः मलेसिया फर्किने तयारीमा काठमाडौंमा बसिरहेका बेला उनी गेस्ट हाउसमा मृत भेटिएका हुन्।
घटनापछि परिवारले मृत्यु शंकास्पद रहेको दाबी गर्दै निष्पक्ष छानबिन तथा सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ। मृतकका एक आफन्तले “स्वस्थ मानिस अचानक मृत्यु हुनु सामान्य होइन, घटनामाथि गहिरो अनुसन्धान हुनुपर्छ,” भन्दै वास्तविकता बाहिर ल्याउन आग्रह गरेका छन्।
उता, घटनाबारे जानकारी दिँदै काठमाडौं प्रहरी वृत्तका सूचना अधिकारी दीप शम्शेर जबराले शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको बताएका छन्। उनका अनुसार पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेकाले मृत्युको कारण खुल्न सकेको छैन।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ भने परिवार तथा स्थानीयवासीले निष्पक्ष अनुसन्धान गरी सत्य सार्वजनिक गर्न माग गरेका छन्।


