पाँचथरको याङवरकमा बाढी–पहिरोको कहर, पुलसहित दर्जनौं संरचना क्षतिग्रस्त
पांचथर । पांचथरको याङवरक गाउँपालिकामा अविरल वर्षापछि आएको बाढी र पहिरोले ठूलो परिमाणमा भौतिक संरचनामा क्षति पुर्याएको छ।
गएरातिको भारी वर्षासँगै आएको बाढीले दोभाने खोला, तमोर खोला तथा मध्यपहाडी राजमार्ग आसपासका विभिन्न संरचनासहित केही स्थानीयका घरसमेत बगाएको हो।
बाढीका कारण पाँचथर र तेह्रथुमलाई जोड्ने निर्माणाधीन पक्की मोटरेबल पुल समेत बगेको छ। साथै याङवरक गाउँपालिका क्षेत्रभित्र पर्ने दोभाने खोलामा सञ्चालनमा रहेको हाइड्रोपावर आयोजनासहित दर्जनौं संरचनामा क्षति पुगेको स्थानीय स्रोतले जनाएको छ।
लगातारको वर्षासँगै आएको विपद्का कारण स्थानीय जनजीवन प्रभावित बनेको छ भने क्षतिको पूर्ण विवरण संकलन गर्ने कार्य जारी रहेको बताइएको छ। सम्बन्धित निकायले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्।


