मोरङको बेलबारीमा पहेँलो धातुको टिल देखाएर वृद्ध महिलाको सुनको सिक्री लुटपाट गर्ने घटनामा संलग्न एक अभियुक्त पक्राउ
बेलबारी । मोरङको बेलबारीमा पहेँलो धातुको टिल देखाएर वृद्ध महिलाको सुनको सिक्री लुटपाट गर्ने घटनामा संलग्न एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बाका ६१ वर्षीय धकलबहादुर थिङ रहेका छन् ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार बेलबारी नगरपालिका–१ की ७८ वर्षीया सावित्रादेवी घिमिरे गत वैशाख २ गते पथरीशनिश्चरेस्थित छोरीको घरबाट सार्वजनिक बसमार्फत घर फर्किंदै थिइन् । उनी बेलबारी बजारस्थित नयाँ मालपोत कार्यालय नजिक ओर्लिएपछि दुई अपरिचित पुरुषले सुन पसल सोध्ने बहानामा उनीसँग कुरा गर्न थालेका थिए ।
प्रहरीका अनुसार ती व्यक्तिहरूले वृद्धालाई राजमार्गबाट दक्षिणतर्फको एकान्त स्थानमा लगेर ‘यूकेबाट ल्याएको सुन’ भन्दै सुनजस्तै देखिने पहेँलो धातुको टिल देखाएर प्रलोभनमा पारेका थिए । त्यसक्रममा उनीहरूले वृद्धाको गलामा रहेको १ तोला ६ आनाको सुनको सिक्री लैजान खोजेका थिए । वृद्धाले नमानेपछि डर–त्रास देखाई जबरजस्ती सिक्री लुटेर फरार भएको प्रहरीले जनाएको छ ।
घटनापछि लुटेराहरूले सुनजस्तै देखिने धातुको टिल वृद्धाको हातमा थमाएर भागेका थिए । घटनाको अनुसन्धान इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले अघि बढाएको थियो । प्रहरीले घटनास्थल आसपासका सीसीटीभी फुटेज अध्ययन गर्नुका साथै शंकास्पद व्यक्तिहरूको हुलिया विभिन्न प्रहरी इकाइमा पठाएको थियो ।
अनुसन्धानका क्रममा घटनामा संलग्नमध्ये धकलबहादुर थिङको पहिचान खुलेपछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ तथा इलाका प्रहरी कार्यालय अनारमनी झापाको समन्वयमा उनलाई जेठ ६ गते झापास्थित उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा अन्य व्यक्तिको पनि संलग्नता रहेको आशंकासहित थप अनुसन्धान भइरहेको जनाएको छ ।


