पाटेबाघ संरक्षणमा सबै जुटन आग्रह
सञ्जय मिश्रा/रौतहट, ११ जेठ । डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साह ले पाटे बाघ संरक्षणका लागि सबै तह र तप्काबाट सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।
बाघ संरक्षण तथा मानव–बाघ द्वन्द्व न्यूनीकरणसम्बन्धी सञ्चारकर्मी लक्षित सचेतनामूलक कार्यक्रममा आइतबार चन्द्रनिगाहपुरमा बोल्दै उनले आम नागरिकमा बाघप्रति सकारात्मक धारणा विकास भए मात्रै संरक्षण सम्भव हुने बताएका हुन्।
उनले बाघ भएको क्षेत्र स्वस्थ, समृद्ध र सुन्दर जंगलको संकेत भएको उल्लेख गर्दै बाघसँग दुश्मनी नराख्न तथा यसको हत्या नगर्न सबैलाई आग्रह गरेका थिए।
“बाघ जंगलको महत्वपूर्ण जीव हो। यसको संरक्षणले समग्र जैविक विविधता जोगिन्छ,” उनले भने।
वन प्रमुख साहका अनुसार रौतहटका विभिन्न वन क्षेत्रमा पाटे बाघको उपस्थिती देखिँदै आएको छ। लमाहा नदी आसपासको वन क्षेत्र, धन्सार, हातेमालो सामुदायिक वन, रंगपुर साझेदारी वनको सतियारी क्षेत्र, गैँडाटार, बागमतीको जुडिबेला तथा पौराही क्षेत्र, रामलाल वृन्दावन साझेदारी वन र फतुवा विजयपुरस्थित नमस्ते सामुदायिक वन क्षेत्रमा बाघको बसोबास रहेको उनले जानकारी दिएका थिए।
उनका अनुसार बाघले मुख्य रूपमा जरायो, चित्तल, बँदेल र बाह्रसिंगा जस्ता वन्यजन्तुलाई आहाराका रूपमा प्रयोग गर्ने गर्दछ।
नेपालभर हाल ३ सय ५५ वटा बाघ रहेको जानकारी दिँदै उनले रौतहटमा समेत बाघ गणना भइरहेको र केही समयमै जिल्लाको यथार्थ तथ्यांक सार्वजनिक गरिने बताएका थिए।
कार्यक्रममा उनले पाटे बाघको शारीरिक बनावट, स्वभाव, आहारा, बासस्थान तथा आक्रमण शैलीबारे जानकारी गराउँदै सामान्य अवस्थामा बाघ मानिसबाट टाढा बस्न चाहने तर आत्मरक्षा वा बच्चाको सुरक्षाका लागि आक्रमण गर्न सक्ने बताएका थिए।
रौतहटमा बाघ आक्रमणका घटना
रौतहटमा पछिल्ला वर्षहरूमा बाघ आक्रमणका केही दुःखद घटना पनि भएका छन्।
वि.सं. २०७७ असोज १४ गते चन्द्रपुर नगरपालिका–६ का २७ वर्षीय सङ्गम भण्डारीको बाघको आक्रमणबाट मृत्यु भएको थियो। जंगलमा फेला परेको उनको शवको कम्मरभन्दा तलको भाग बाघले खाएको अवस्थामा भेटिएको थियो। उनलाई खोज्न गएका दुई युवक समेत बाघको आक्रमणबाट घाइते भएका थिए।
त्यस्तै, २०७८ असोज २१ गते लमाहा जंगलमा घाँस काट्न गएका चन्द्रपुर–६ थोकरटोलका यज्ञबहादुर रायमाझी बाघको आक्रमणबाट घाइते भएका थिए।
यस्तै, २०८१ मंसिर १५ गते गुजरा नगरपालिका–१ मा आफ्नै आलुबारीमा पानी लगाइरहेका बौराही चौधरीमाथि बाघले आक्रमण गरेको थियो। उनलाई बचाउन गएका वडा अध्यक्ष रामजित चौधरी समेत घाइते भएका थिए।
वन कार्यालयले बाघ संरक्षणसँगै मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
स्थानीयवासीका अनुसार डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहको निर्देशन तथा वन कर्मचारीहरूको सक्रियतापछि वन अतिक्रमण नियन्त्रण र अवैध काठ तस्करी रोक्न समेत उल्लेखनीय सफलता मिलिरहेको छ।


